नेपालमा आज ७४० जना संक्रमित थपिए
काठमाडौँ । नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ७४० जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
देशभर हालसम्म दुई लाख ४२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ५६ हजार २९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ३५ हजार ४७२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ८४ कोरोना संक्रमितहरु रहेका छन् मन्त्रालयका अनुसार प्रदेश १ मा ६७४, प्रदेश २ मा तीन हजार ९९५, बागमती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा १ हजार ११८, प्रदेश ५ तीन हजार ८९१, कर्णाली प्रदेशमा एक हजार ५३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म छ हजार १४३ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ८२३ रहेको छ ।
नेपालमा कोरोना भाइरसले थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको असार १७ गते मृत्यु भएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।