प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा

काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन् । उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन् । मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन् ।

गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो । प्रेस सल्लाहकार सूर्य थापाले भने, नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानु भएको जानकारी दिए । कुनै समस्या भएर उहाँ अस्पताल जानु भएको होइन’, उनले भने, ’यो नियमित चेकजाँच हो । भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या भएको होइन ।’

बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा बोलेका पाँचमध्ये चारजना सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । पछिल्लो पटक आफ्नो सरकार ढाल्न भारत र आन्तरिक शक्ति लागिरहेको अभिव्यक्ति दिएपछि ओली आलोचनाको केन्द्रमा छन् । उनलाई सरकार छाड्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले दबाब दिइरहेका छन् ।