जिल्लामा विकास अवसरबाट पछिपरेको झापा गाउँपालिका

भद्रपुर । झापा जिल्लामा झापा नामको गाउँ पालिका पनि छ । झापा जिल्लालाइ सुगम जिल्लाको दर्जा भिराइए पनि झापा गाउँ पालिका दुर्गम गाउँपालिकामा गनिन्छ । सुगम मानिएको झापाको झापा गाउँपालिका जिल्लामा सबै भन्दा पीछडिएको गाउँपालिका हो ।

गाउँ पालिका अध्यक्ष जयनारायण शाहले बताए अनुसार, भारतको विहारसंग सिमाना जोडिएको झापा गाउँपालिकाले सिमाना जोडिएकै कारण सीमा क्षेत्रबाट हुने विविध समस्याहरुको सामना गर्दै आएको छ । त्यसमा पनि यो वर्ष फैलिएको कोरोना महामारीमा त सिमाना सुरक्षाको विषय अझ चुनौति बन्यो । कोरोना संक्रमण जोखिमलाई दृष्टिगत गरी नेपाल र भारतका दुवै देशले लकडाउनको घोषणा गरे तापनि खुल्ला सिमाना भएको झापा गाउँपालिकाको सिमावर्ती क्षेत्र हुँदै नेपालबाट कामका लागि भारत गएकाहरुको घर फर्किनेको लर्को नै लाग्यो । त्यतिमात्र होइन तस्करले पनि सो क्षेत्रमा निकै दुःख दिए । सुरक्षाकर्मी माथि नै हात पात समेत भयो ।

नेपाली कांगे्रसका बिजयी उम्मेदवार जयनारायण.शाह गाउँपालिकाका अध्यक्ष छन । उनी भन्छन्, “बिहारसंग सिमा जोडिएको गाउँपालिका, खुल्ला सिमाना भएका कारण भारतीयसंग कतिपय नागरिकको पारिवारिक, बैबाहिक र सांस्कृतिक सम्बन्ध पनि छ । सहज परिवेशमा आउजाऊ पनि हुन्छ । भारतीय नागरिकलाइ जग्गा जोत्न, धानमकै खेती लगाउन, पनि दिएका छन् । तर यो वर्ष कोरोनाका कारण लगाएको बाली उठाउन भारतीय किसानले पाएनन् । यतै हुने उनीहरुका आफन्तले उठाए भने कतिले हिसाबमा उठाइदिए । त्यही कारण विवाद पनि बढ्यो । तर अब यो वर्षदेखि भारतीयहरुलाई जग्गा जोत्न नदिने सूचना हामीले गरिसकेका छौं । यो वर्षदेखि अब जसको खेति हो उनीहरुले नै जोत्छन् । विवाद भयो अब बाली लगाउन दिन हुँदैन भन्ने हाम्रो दृढ निश्चय छ । यसको कार्यान्वयन पनि गर्छौ ।”

गाउँपालिका भारतसंग सीमा जोडिएको छ । त्यसैले अहिलेको अवस्थामा सुरक्षाका दृष्टिले पनि केही चुनौति छन् । त्यसमा पनि खोला–नाला बढी भएकोले गर्दा बाढी प्रभावित गाउँपालिका पनि हो । गाउँपालिकाका धेरै वडा बाढी प्रभावित छन् । २०६४ सालको बाढीमा यो गाउँपालिकाका १० जनाले ज्यान गुमाएका थिए । विपन्न समुदायको बसोबास भएको गाउँपालिका पनि हो । यहाँ सर्पदंशको प्रकोप पनि त्यत्तिकै छ । आर्थिक अभावकै कारण समयमा उपचार नपाउँदा ज्यान गुमाउने गरेका अध्यक्ष शाहले बताए ।

हालै झापा गाउँपालिकाले सार्वजनिक गरेको २०७७ । ०७८को नीति तथा कार्यक्रममा, सबै जातका विपन्नलाई समान रुपले हेर्ने नीति लिएको छ । सुत्केरी भत्ता, रगतको अभावमा गाउँपालिकाका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि ब्लडको व्यवस्था गर्ने, जनताको तटबन्धलाई प्रभावकारी रुपमा अघि बढाउने छ भने कृषि उत्पादनलाई ध्यानमा राखेर सिंचाईको व्यवस्थाका लागि ‘जहाँ खेति त्यहाँ पोल’ भन्ने नारालाई अघि सारेका छं । यसैवर्षदेखि गाउँपालिकाको एउटा वडामा ‘धान जोन’ कार्यक्रम पनि सञ्चालन गर्ने नीति लिएको छ ।