नेपालमा आज ३१६ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ  । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ३१६ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । कुल कोरोना संक्रमितको सख्यां मध्ये ११ हजार ९०८ पुरुष रहेका छन् भने एक हजार ६५७ महिला रहेका छन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर हालसम्म दुई लाख २३ हजार ३६० जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९७ हजार ८७१ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ५३ हजार ७० मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार ३४१ कोरोना संक्रमितहरु रहेका छन् ।

संक्रमित हुनेमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा ५१ जना पुरुष छन् भने ९ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म तीन हजार १९४ पुगेको छ । जसमा दुई हजार ९१७ जना पुरुष छन् भने २७७ जना महिला रहेका छन् ।

७७ वटै जिल्लामा फैलिएको कोरोना संक्रमणबाट नेपालमा हालसम्म २९ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ ।