मेची बहुद्देश्यीय कृषि फर्मको सार्वजनिक सुनुवाई
भद्रपुर । मेची बहुद्देश्यी कृृृषि फर्म भद्रपुर ४ ले यस वर्ष कृषि ज्ञान केन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बाली अन्र्तगत तरकारी खेती सम्बन्धि परियोजना कार्य बारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
कृषि फर्म सञ्चाललक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालन स्थलमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
परियोजना संयोजक ज्ञानबहादुर चौहानले परियोजना अन्र्तगत ४ वटा डिप बोरिङ गाडिएको, तरकारीका बेर्ना उत्पादनका लागि प्लाष्टिक टर्नेल निर्माण, अग्र्यानिक मल उत्पादनका लागि गड्यौला मल केन्द्र निर्माण, पावर ट्रेलर खरिद लगायत विभिन्न जातका तरकारी खेती गर्दा १३ लाख ५० हजारको काम सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । चौहानले ५०/५० प्रतिशत सहकार्यमा सञ्चालित परियोजना कार्यका लागि कृषि ज्ञान केन्द्र झापाले ६ लाख ७५ हजार अनुदान सहयोग तथा फर्मले ६ लाख ७५ हजार लगानी गरेको जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले विषादीरहित खेतीमा जोड दिनु पर्ने धारणा राख्दै वर्षे तरकारी उत्पादनमा नगरका लागि योगदान दिन सक्नु पर्ने बताए ।
अध्यक्ष रिजालले दिएको जानकारी अनुसार भद्रपुर गौशालाको स्वामित्वमा रहेको १५ विगाह क्षेत्रफलमा फैलिएको जग्गा वार्षिक २ लाख ४३ हजार भाडा तिर्ने गरी व्यवसायिक खेती थालिएको हो । जसमा सिजनेवल तरकारी र फलफुलको खेती हुँदै आएको छ ।