बामदेव गौतमको शानदार छक्का

काठमाडौं । नेकपा स्थायी समिति बैठक उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धिको प्रसंग ल्याएका छन् । बैठकको तेस्रो दिन बोल्दै उनले महाकाली सन्धिको प्रसंग उठाएर नेतृत्वलाई झट्का समेत दिए । बैठकमा वामदेवले महाकाली सन्धिको विरोध गर्दा आफूमाथि कारबाही भएको बताए । उनले भने, ’महाकाली नदीको मुहान लिम्पियाधुरा भनेर प्रष्ट पार्नुपर्छ भन्दा म लगायत १६ जनामाथि कारबाही भयो ।’

०५२ सालमा महाकाली सन्धि हुँदा तत्कालिन एमालेका महासचिव माधव नेपाल थिए भने केपी शर्मा ओलीको विशेष पहलमा सो सन्धि सम्पन्‍न भएको थियो । ओलीले महाकाली सन्धि राष्ट्रको हितमा रहेको प्रचार गरेका थिए भने सन्धिको विरोध गर्ने विरुद्ध लागि परेका थिए । वामदेव लगायतले महाकाली सन्धिलाई राष्ट्रघाती भन्दै पार्टी नै फुटाउँदै नेकपा–माले गठन गरेका थिए । नेकपा बैठकमा बोल्दै वामदेवले भने, ’मैले भनेकै कुरा अहिले प्रमाणित भएको छ । त्यसबेला मलाई कारबाही गरेर गल्ति गरेको भनेर पार्टी नेतृत्वले न्याय दिओस् ।’

पछिल्लो समय ओली नेतृत्वको सरकारले नै नेपालको सीमा लिम्पियाधुरासम्म रहेको भन्दै नयाँ नक्सा समेत जारी गरिसकेको छ । एक स्थायी समिति सदस्यले सरल पत्रिकासँग कुरा गर्दै भने, ’वामदेव कामरेडले जे भने सही भने । उनको भनाईमा दम छ ।’ वामदेवले भनाई राख्‍न सही समय र स्थान छनोट गरेको भन्दै उनले थपे, ’अहिले यो कुरा उठाएर कामरेडले शानदार छक्का नै प्रहार गरेको हो ।’