पसिआर परीक्षण गर्न किट अभाव हुने अवस्था सेनाले ल्याएको पिसिआर किट प्रयोग गर्न नमिल्ने
सविना खनाल
काठमाडौं । नेपाली सेनाले जिटुजीमार्फत चीनबाट खरिद गरेर ल्याएको पिसिआर किटमा समस्या देखिएको छ । सेनाले खरिद गरेर ल्याएको ६ करोडभन्दा बढी मूल्यको बराबरको (कोभिड १९) जाँच को प्रयोगशालामा आवश्यक पर्ने पिसिआर किट प्रयोगमा समस्या देखिएको हो । सेना ल्याएको पिसीआर किट पोर्टेबल पिसिआर मेसिनका लागि प्रयोग गरिन्छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग खरिद गरेका ५ वटा पोर्टेबल पिसिआर थन्किएका छन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सेनाले हालै ल्याएको पिसिआर रिएजेन्ट किट हाल नेपालको प्रयोगशालामा प्रयोग भइरहेको भन्दा फरक रहेका प्रयोगमा समस्या भएको हो । हालसम्म नेपालमा प्रयोग गरिँदै आएको आरएनए एक्स्ट्राक्सन किट, भीटीएम र पिसिआर रिएजेन्ट सबै आरटी पिसिआर प्रयोगशालामा प्रयोग गर्न मिल्ने खालका थिए । तर, एक महिनाअघि चीनबाट सेनाले ल्याएका ६ करोड बढी मूल्य बराबरको २८ हजार पिसिआर किट अन्य कम्पनीका किटसँग प्रयोग गर्न नमिल्ने भएपछि समस्या आएको हो । एक महिनाअघि चीनबाट सेनाले ल्याएको ६ करोड बराबरको २८ हजार पिसिआर किट अन्य कम्पनीका किटसँग प्रयोग गर्न नमिल्ने भएपछि समस्या आएको हो । मन्त्रालयले स्रोतले भन्यो, ‘सेनाले ल्याएको पिसिआर किट हामीले प्रयोग गरिरहेको भन्दा फरक कम्बिनेसनको सेट आएको हुँदा कलेक्सन गरेर ल्याइएका स्वाब परीक्षणका लागि समस्या देखिएको छ ।’ जसले गर्दा अहिले सेनाले ल्याएको पिसिआर किट प्रयोग गर्दा अहिले जस्तो एक ठाउँमा कलेक्सन गरिएको स्वाब अर्को प्रयोगशालामा लगेर परीक्षण गर्न समस्या हुने भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले चीनको सानस्योर कम्पनीबाट उक्त किट ल्याएको हो । मन्त्रालयका अधिकारीका अनुसार १ एमएल र ३ एमएलका फरक,फरक भिटिएम हुन्छन् । तर, सेनाले ल्याएको भिटिएम १ एमएलको हो । उक्त भिटिएम कम गुणस्तर रहनुको साथै त्यसमा राखिएको स्वाब अर्को प्रयोगशालामा पठाउन मिल्दैन ।
१ एमएलको भिटिएम प्राय गरी पोर्टेबल पिसिआरका लागि उपयुक्त हुने विज्ञहरुले बताउँदै आएका छन् । सेनाले खरिद गरेर ल्याउने सामाग्रीको सूची तयारी गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले तयार पारेको मापदण्डअनुसार मन्त्रालयले सिफारिस गरेको जनाइएको छ । यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले भने पिसिआर किटको स्पेसिफिकेसन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयार गरी सिफारिस गरेको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘यस विषयमा मलाई थाहा भएन ।’ पिसिआर किट प्रयोग गर्न नमिल्ने आएकोबारेमा नेपाली सेनाका अधिकारीहरुसँग सम्पर्क गर्दा कसैले प्रतिक्रिया दिन चाहेनन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई पिसिआर किट प्रयोग गर्न नमिल्ने भएकोबारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । विज्ञहरुका अनुसार आरएनए एक्स्ट्राक्सन किट, भीटीएम र पिसिआर रिएजेन्ट एकै सेटमा परीक्षण गर्न सकेमात्र त्यसले सही नतिजा दिन्छ । अर्को सेटसँग मिसाएमा त्यसले सबै नेगेटिभ रिपोर्ट मात्रै दिन्छ ।
नेपालमा हाल विभिन्न कम्पनीले दिएका पिसिआर किट सेट प्रयोग हुँदै आएको छ । सेनाले ल्याएको धेरै किट काठमाडौं बाहिरका प्रयोगशालामा पठाइसकिएको छ । तर, ती किटहरुको गुणस्तर परीक्षण नगरी सीधै पठाइएको मन्त्रालयका एक अधिकारी बताउँछन् । उनले भने, ‘नमुना संकलन गरेर अन्य प्रयोगशालामा लैजान सेनाले ल्याएका किटबाट मिल्दैन । हाल ती सामान उपत्यका बाहिर पिसिआर परीक्षण हुने प्रयोगशालामा पठाइए सकिएको छ ।’ नेपालमा देशका विभिन्न स्थानबाट स्वाब संकलन गरेर २१ मध्ये कुनै पनि प्रयोगशालामा लैजाने गरिन्छ । हाल मन्त्रालयसँग ५० हजार पिसिआर किट छन् । जसमा सेनाले ल्याएका २८ हजार किट सबै ठाउँमा प्रयोग गर्न नमिल्ने भएपछि समस्या आइपरेको हो । हाल दैनिक ५ देखि ७ हजारका दरले परीक्षण हुँदा अब काम लाग्ने पिसिआर किटले एक हप्ताभन्दा धेरै धान्न नसक्ने अवस्था छ ।—थाहाखबर