आफूले बनाएको औषधीले कोरोना निको हुने रामदेवको दाबी
एजेन्सी
भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन् । मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरे । यो औषधीले कोभिड(१९ का बिरामी निको हुने कम्पनीको दाबी छ । क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बिरामीलाई सतप्रतिशत सकारात्मक प्रभाव पारेको कम्पनीले बताएको छ ।
‘पूरा देश र दुनियाँ कोरोनाको भ्याक्सिन वा औषधीको पर्खाइमा थियो । हामीलाई यो कुराको घोषणा गर्दा गर्व भइरहेको छ कि अनुसन्धान, क्लिनिकल ट्रायल र तथ्यहरूमा आधारित पहिलो आयुर्वेदिक औषधी तयार गर्यौं,’ रामदेवले भने,‘पतन्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज जयपुरको साझा प्रयासबाट औषधी तयार गरिएको हो । यी औषधी तीनदेखि सात दिनसम्म खाए बिरामी पूर्ण निको हुन्छ । हामीले ६९ प्रतिशत बिरामी तीन दिनमा र सात दिनमा सत प्रतिशत बिरामी निको भएको पाएका छौं ।’
रामदेवले कोभिड १९ निको हुन्छ भनेर दाबी गरिएको औषधीको ट्रायलमा २८० बिरामी सहभागी थिए । उनीहरू सबै यो औषधी खाएर निको भएको बताइएको छ । रामदेवले औषधी दिनुभन्दा पहिला बिरामीको पूर्वस्वीकृति लिएको बताए । तर,भारत सरकारले रामदेवको औषधीलाई औपचारिक रूपमा मान्यता दिने निर्णय गरिसकेको छैन ।
सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानदेखि फैलिएको कोभिड १९ को महामारीबाट अहिलेसम्म ९२ लाख मानिसहरू संक्रमित भएका छन् भने चार लाख ७४ हजारको मृत्यु भएको छ । संसारभरका वैज्ञानिकहरू कोरोना भाइरस विरूद्धको भ्याक्सिन र औषधी बनाउन जुटेका छन् तर सफलता मिलिसकेको छैन । यसअघि बेलायती अनुसन्धानकर्ताहरूले सस्तो र व्यापक रूपमा पाइने ’डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको दाबी गरेका थिए ।