चीनसँगको सीमाङ्कन पनि टुंगो लगाउनु पर्छ ः सीमाविद श्रेष्ठ

काठमाडौं । सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाङ्कन पनि टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । लिपुलेक पश्चिममा चीनसँग पनि सीमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए । चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशीय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सीमाङ्कन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशीय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताए ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद् श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने बताए । सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उनले बताए । केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कुटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए । सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै उनले सडकमा आएर दुई चार शब्द भन्दै बिच्काएर नहुने बताए । नेपाली भूमिबाट भारतीय सेना फिर्ता वातावरण नेपालले बनाउनुपर्ने उनले बताए । भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने सुझाव उनले दिएका छन् । भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने बताए ।