मेची भन्सार कार्यालयलाई २ अर्ब राजस्व नोक्सान

मेचीनगर । लकडाउन अवधिभरमा मेची भन्सार कार्यालयलाई २ अर्बभन्दा बढी राजस्व नोक्सान भएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले बताए । यस अवधीमा भन्सार कार्यालयले करिब १ अर्ब राजस्व संकलन गरेको छ । चैतदेखि जेठसम्म मेची भन्सार कार्यालयले ३ अर्ब २४ करोड ४७ लाख राजस्व संकलन लक्ष्य राखेको थियो । चैत महिनामा ४७ करोड, वैशाखमा ७ करोड र जेठ महिनामा ४४ करोड मात्र राजस्व संकलन गरेको मेची भन्सार प्रमुख विश्वकर्माले जनाए ।

मेची भन्सार कार्यालयले मासिक १ अर्ब भन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले बताए । उनका अनुसार, चैत महिनामा एक अर्ब ५० करोड ९४ लाख, वैशाखमा १ अर्ब ६ करोड र जेठमा १ अर्ब १८ करोड ५४ लाख संकलन गर्ने लक्ष राखिएको थियो । पुससम्म लक्ष्य बमोजिम राजस्व संकलन भइरहेको थियो । वार्षिक १२ अर्ब २४ करोड राजस्व संकलन र मासिक १ अर्ब १० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि लकडाउनको कारणले उक्त लक्ष्य बमोजिम राजस्व संकलन गर्न नसकिएको उनले बताए । उनले भने, ‘चीनमा कोरोना भाइरसको संक्रमणको बढेदेखि नै मेची भन्सारमा राजस्व घटेको हो ।

इलामको चिया युरोपेली मुलुकमा जान पाएन, पूर्वी नेपालमा उत्पादित कृषिजन्य सामाग्री भारत हुदै पश्चिमा मुलुक सम्म मेची भन्सार कार्यालय हुदै बाहिर जाने गरेको भन्सार प्रमुख विश्वकर्माले बताए । उनका अनुसार चिया, अम्लिसो,कुचो, अलैँची, अदुवा, जडीबुटी, जस्तापाता, हेन्डीक्राफ्ट र मुसुरोको दाल निर्यात हुने गरेको छ । सबैभन्दा बढी मेची भन्सारबाट निर्यात हुने कृषिजन्य सामग्रीमा चिया रहेको विश्वकर्माले बताए । उनले भने, ‘ झापाको चिया भारत र इलामको चिया युरोपेली मुलुकमा जाने गरको छ । इलामको चिया युरोपेली मुलुकमा सबैभन्दा बढी जर्मना निर्यात हुने गरेको छ ।’