स्वास्थ्य बीमितलाई बीएण्डसीले औषधि दिन बन्द गर्यो
भद्रपुर । स्वास्थ्य बीमा गरेका विरामीलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले औषधि दिन बन्द गरेको छ । अस्पतालले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य उपचारका लागि अस्पताल आएका विरामीलाई औषधि दिन बन्द गरेको जनाएको छ । स्वास्थ्य बीमा वोर्डले अस्पताललाई तिर्नु पर्ने रकम उपलब्ध नगराएकाले बिरामीलाई औषधि दिन बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य बीमा वोर्डले बीएण्डसी अस्पतालाई झण्डै १२ करोड रुपैयाँ तिर्नु पर्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले सेवाग्राहीलाई औषधि दिन छाडेपछि स्वास्थ्य बीमा गरेका विरामीले छुट्टै रकम तिरेर निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य भएका छन् । दमक नगरपालिकामा रहेको दमक अस्पताल प्रालिलेसमेत स्वास्थ्य बीमा वोर्डले समयमा रकम उपलव्ध नगराएको जनाएको छ । झापामा अहिलेसम्म तीन लाख ३३ हजार ७६ जनाले स्वास्थ्य बीमा गरेका छन् ।