पछिल्लो २४ घण्टामा संक्रमित ६७१ जना र मृत्यु २ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन् । मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ पुगेको छ । जसमा ११४ जना महिला र १०७२ पुरुष रहेका छन्

हालसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ । देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् । यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म १ हजार १ सय ८६ जना संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

साथै, नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिएm। जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको असार ३ गते बेलुकी निधन भएको हो । यस्तै, लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागे पछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।