झापा कारागार भद्रपुरको सुरक्षामा सेना

भद्रपुर । झापामा क्रमिक रुपमा सेना परिचालन हुन थालेको छ । शुरुमा काँकडभिट्टाको सीमा नाका, त्यसपछि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा निर्मित क्वारेन्टाइनको ब्यवस्थापनमा, त्यसपछि कचनकवल गाउँपालिकास्थित क्वारेन्टाइ, अनि भद्रपुरको कलवलगुरीस्थित प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा खटाइएको थियो भने अव झापा कारागार भद्रपुरको सुरक्षामा खटिएइको छ । कारागारको सुरक्षामा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको जिल्ला प्रशासनले जनाएको छ । चाआराली स्थित नयाँ श्रीनाथ गणबाट खटिएका नेपाली सेनाले मगंलबारदेखि कारागारको जिम्मा लिएको बताइएको छ ।

भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । हाल कारागारमा महिला तथा पुरुष कैदी बन्दी गरी १ हजार १४० जना रहेका छन् ।