पत्रकारलाई सेवाबाट निष्काशन नर्गन आग्रह

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ । महासंघको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासंघले सो आग्रह गरेको हो । कोभिड–१९को कारण देखाउँदै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजिनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासंघले एक साताभित्र सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासं‌घलाई गराउन समेत आग्रह गरेको छ । एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघले सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा अपिल गरेको छ । -रासस