ऐतिहासिक एकता, संविधान संशोधनमा सर्वसम्मति

काठमाडौं । नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ । देशको पश्चिमी सीमाको भारतले मिचेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै सार्वजनिक भएको नक्शा निशान छापमा समावेश गर्न संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव शनिबार सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधि सभामा उपस्थित कुल २५८ जना सांसदमध्ये सबैले संविधान संशोधनको पक्षमा मतदान गरे भने विपक्षमा एक मत पनि परेन ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले आजै विधेयकमा दफावार छलफल गर्न प्रतिनिधि सभामा प्रस्ताव टेबुल गरेकी थिइन्। उक्त प्रस्तावमाथिको छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो ।

मतदान अघि प्रमुख दलका नेता र सांसदहरुले आ आफ्ना धारणा राखेका थिए । संविधान संशोधन गर्दा भएको राजनीतिक दलहरुबीचको एकतालाई नेता तथा सांसदहरुले ऐतिहासिक भन्दै प्रशन्नता जनाएका छन् ।