कोरोना संक्रमित बढिरहेका बेला बन्दाबन्दी खुकुलो हुँदै

काठमाडौं । देशमा कोरोना भाइरसको संक्रमण तीव्र बढिरहेका बेला सरकारले बन्दाबन्दी खुकुलो बनाउने निर्णय गरेको छ ।

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले करिब तीन महिनायता लागु गरेको लकडाउनलाई औपचारिक निर्णय मार्फत खुकुलो पार्ने घोषणा गरेको हो ।

सरकारको निर्णय अनुसार मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने गरी लकडाउन खुकुलो भएको छ । चारपाङ्ग्रेमा दुईजनामात्र चढ्न पाउने गरी सञ्चालन गर्न पाउने निर्णय भएको छ । जोर र बिजोर नम्बरका निजी सवारी साधन जोर र बिजोर गतेमा चल्न पाउने भएका छन् ।

उद्योग, पसल, डिपार्टमेन्टलहरूलाई खुला गरिएको छ । मानिसहरू पैदल हिँड्न पाउने भएका छन् ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले नियमित साप्ताहिक पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् । यसअघि मन्त्रिपरिषद्को बुधबारको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो तर कसरी खुकुलो बनाउने भन्ने सार्वजनिक गरेको थिएन ।