प्रतिनिध सभामा आज दश अर्ब रुपैयाँ कहाँ गयो ? प्रधानमन्त्रीको जवाफ चाहियो : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको दाबी गर्दै आगामी दिनमा हिसाब किताबका साथअघि बढ्ने बताएका छन् । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई सहयोग गर्ने मात्र नभई अब प्रश्न गर्ने र जवाफ खोजेर उत्तरदायी बनाएर छोड्ने बताए । कोराना रोकथामका लागि भएको १० अर्ब रुपैयाँको खर्च, क्वारेन्टिन मान्छे मार्ने ठाउँ बनेको, सरकारले अस्पताल, स्वास्थ्य उपकरण उपलब्ध नगरेको विषयमा जवाफ मागेका हुन् ।

सांसद थापाले सरकारले अदालत, विपक्षी दल, प्रेस, नागरिक कसैको पनि भनाइ नसुनेको बताए । उनले प्रश्न गरे, ’के कानूनले रोकिएको हो, ढुकुटीमा पैसा नभएर रोकिएको हो । कि काँग्रेसले रोकेको हो, कि अदालतले रोकेको हो ? यो सबै म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अकर्मण्यताले रोकेको हो । सरकरको अक्षमताका कारण आज हामीले यो अवस्था झेल्नुपरेको छ ।’

उनले भने, ‘१० अरब रुपैयाँ कहाँ खर्च भयो यसको हामीलाई उत्तर चाहिन्छ । ५ वटा पिसिआर मेसिन किन्ने, २५ हजार वटा पिसिआर किट किनेर १० अरब रुपैयाँको हिसाव देखाउनु पर्दैन ? हामीलाई एक एक रुपैयाँको हिसाव चाहिन्छ । राष्ट्र विपत्तिमा परेका बेला भष्ट्राचारमा निर्लिप्त हुने यो निर्लज्जताको पराकाष्टा हो ।’ क्वारेन्टिनमा १ लाख ६६ हजार मान्छे बस्छन भनेर प्रधानमन्त्रीले भन्ने तर त्यो क्वारेन्टिन हो कि मान्छे मार्ने ठाउँ हो भन्दै सरकारको जवाफ मागे । थापाले भने, ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो ?’ उनले संसद, अदालतले पिसिआर टेष्टको दायरा बढाउन भनेपनि सुदुरपश्चिममा टेष्ट हुन नसकेको, प्रदेश २ मा दशौ हजार मानिस रिर्पोट नआएर छटपटाएर बसेको उल्लेख गरे । उनले सरकारले टेस्टको दायरा घटाउन लागेको भन्दै आपत्ति प्रकट गरे । उनले भने, ‘अब सरकारले टेष्ट गर्न बन्द गर्दिने र नेपाललाई कोरोना फ्रि देश घोषणा गरिदिने । परिक्षण नभएपछि एकजनामा पनि कोरोना देखिँदैन ।’ उनले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भोली एकजना निर्धो कर्मचारीलाई सरुवा गरेर दोषबाट भाग्न नपाइने बताए । आरडिटी परिक्षण भरपर्दो नभएको विज्ञले बताइरहेका बेला यसको अपराधको जिम्मेवारी कसले लिने भन्दै उलने प्रश्न समेत गरे ।

संक्रमित झन् बढ्दै सरकारले अस्पतालले तयारी नगरेको उनले बताए । सांसद थापाले मजदुर, गर्वभतीले प्रधानमन्त्रीले गीत र कविताले राहत नपाउने बताए । उनले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टिनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्ने सांसद थापाको प्रश्न छ । ‘नेपाल भन्दा बाहिर १ सय २७ जना नेपालीको कोभिड–१९ बाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्छ, नेपालभित्र १४ जनाको मृत्यु भएको छ, ३७ सय ६२ जना संक्रमित भएका छन् । के मृत्यु हुनेको संख्या १४ मात्रै हो ? त्यसोभए भोकबाट मारिएका सूर्यबहादुर तामाङ वा झुण्डिएर मरेका चन्द्रबहादुर परिवार, औषधी खान नपाएर मरेकी कङ्कादेवी बोहोरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ ? क्वारेन्टिनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ? वा झुण्डिएर मर्न बाध्य भएका लिलाबल्भव वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आहुजुको मृत्युको जिम्मा कसले लिन्छ ?,’ उनले प्रश्न गरे । आफूहरुले उठाएका जवाफ उपप्रधानमन्त्रीले दिनुपर्ने रत्यसमा चित्त नबुझे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । थापाले भने, ‘आज हामीले रेकर्ड गराएका छौँ । अवाफ मागेका छौँ । अब जवाफ मागेर मात्र बस्दैनौँ । अब बोलेर थपक्क बस्ने दिन गए । सरकारले यहाँ आएर हामीले मागेको हिसाब किताब दिएपछि मात्र सबै प्रक्रिय सुचारु ढंगले अगाडि बढ्ने ठाउँसम्म हामी पुग्छौँ । अब काँग्रेसलाई सदनमा एक एक कुराको हिसाब नदिकन सरकारलाई अब सुतेर बस्न दिँदैनौं भन्ने कुरा जानोस्’