भद्रपुर काँग्रेसको आरोप : समुदायमा नगर प्रमुखले कोरोना संक्रमण त्रास फैलाए

भद्रपुर  । नेपाली काँग्रेस भद्रपुर नगर समितिले भद्रपुर नगर सरकारले कोरोना संक्रमण जोखिम नियन्त्रण कार्यमा गम्भीर त्रुटी गरेको आरोप लगाएको छ ।

नगर समितिको बैठकले कोरोना रोग संक्रमण जोखिम न्युनीकरणका लागि निर्माण गरिएका क्वारेन्टिनमा राखिएका व्यक्तिको रिर्पोट नआई नगर प्रमुखले त्यस्ता व्यक्तिलाई घर घर छोडेर रोग संक्रमण त्रास फैलाएको आरोप लगाएको हो । बैठकले मुख्य दोषी पत्ता लगाई कारवाही गर्नु पर्ने समेत माग गरेको छ ।

नगर सभापति मोहन महर्जन तथा गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेद्वार गणेश पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ—भद्रपुर न.पा.वडा नं.१० गलवलगुडी स्थित क्वारेन्टिनमा बसेका भद्रपुर नगर क्षेत्र र कचनकवल गा.पा.का गरि ९ जना व्यक्तिहरू मध्ये ६ जनाको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मिति २०७७ जेठ २१ गते कोरोना परिक्षणको रिपोर्ट नेगेटिव आउँछ । तर, सो क्वारेन्टिनमा रहेका सबै ९ जनाकै परीक्षण रिपोर्ट नेगेटिव आएको भनी स्वयं नगर प्रमुख जीवनकुमार श्रेष्ठकै अग्रसरतामा उहाँहरू ९ जनालाई नै क्वारेन्टिनबाट बाहिर ल्याई नगर प्रमुख आफैले निजहरूलाई गाडीमा राखी गन्तव्य स्थलसम्म पुर्याउनु हुन्छ । यस क्रममा भद्रपुर नगर क्षेत्र भित्रका व्यक्तिहरूलाई निजहरूको घरमा र कचनकवल गा.पा.का व्यक्तिलाई गाउँपालिका क्षेत्रमा छाड्नु हुन्छ । भोली पल्ट जेठ २२ गते ९ जना व्यक्तिहरुमध्ये ३ जनाको कोरोना संक्रमणको रिपोर्ट पोजिटिव आउँछ । त्यसको जानकारी नगर प्रमुखलाई हुन्छ । तर, जिल्ला समन्वय समिति, झापाको सभाहलमा तय गरिएको नगरपालिकाको पूर्वनिर्धारित बैठकमा अघिल्लो दिन कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आउनु भएको नगर प्रमुखको समेत सहभागिता रहन्छ । संवेदनशील यस घडीमा उच्च स्तरको जिम्मेवारी अपेक्षित रहेको संस्था र व्यक्तिबाट भएको सुन्दा अचम्म लाग्ने यो गैर जिम्मेवार घटना श्रृंखला कुनै काल्पनिक कथन नभई सतहमा प्रष्ट देखिएको तथ्य हो ।

कोरोना महाव्याधिले निम्त्याउने संकटबाट नगर र सिंगो समूदायलाई बचाउन नगर प्रमुख र सिंगो नगरपालिकाले खेल्ने भुमिकालाई साथ दिन हाम्रो पार्टी नेपाली कांग्रेस खुल्ला हृदयले तयार छ । यस सन्दर्भमा हाम्रो सम्पूर्ण पार्टी संयन्त्र निरन्तर रूपमा परिचालित रहिआएको समेत छ । तर, गैरजिम्मेवार भुमिकाको टाउकोमा टेकी संक्रमणले समुदायमा राज गर्ने भएकोले स्थानीय सरकार जस्तो जनताको भरोसाको केन्द्रको रूपमा रहनु पर्ने निकायले प्रदर्शन गर्ने यस्तो गैरजिम्मेवारी र लापरवाहीलाई प्रवृत्तिको रूपमा विकसित हुनबाट रोक्न सचेत खवरदारी गर्दै हामीले उनीहरूसँग निरन्तर जवाफदेहिता खोज्ने नै छौं ।

कोरोना संक्रमित ३ जना व्यक्तिको रिपोर्ट समेत नेगेटिव आएको भनी भएको यो गम्भीर लापारवाहीको उत्पत्ति कहाँबाट भएको हो ? नगरपालिकाको स्वास्थ्य शाखा, अरू कुनै व्यक्ति, स्वयं नगर प्रमुख वा अन्य कुनै व्यक्ति वा निकाय ?

यसै सन्दर्भमा जेठ २३ गते भद्रपुर नगरपालिकाले एउटा प्रेस विज्ञप्ति निकालेको छ । सो विज्ञप्तिमा स्वास्थ्य कार्यालय, झापालाई यस प्रकरणमा दोषारोपण गर्न खोजिएको छ । स्वास्थ्य कार्यालयमा टेलिफोन सम्पर्क गर्दा सबै व्यक्तिको रिपोर्ट नेगेटिव आएको भनि त्यहाँबाट मौखिक जानकारी आएकोले सबैलाई क्वारेन्टिनबाट बाहिर निकालिएको भनी विज्ञप्ती प्रकाशित गरिएको छ । त्यसो भए, लिखित रिपोर्ट हात नपर्दै किन यस्तो कच्चा निर्णय गरियो ? नगरपालिकाले जवाफ दिनु पर्छ । तथापि यस सम्बन्धमा हामीले स्वास्थ्य कार्यालयसँग सम्पर्क गरि बुझ्दा जेठ २१ गते कलवलगुढीमा रहेका ६ जना व्यक्तिको रिपोर्ट नेगेटिव आएको जानकारी नगरपालिकालाई इमेल मार्फत गरेको र त्यसको भोलीपल्ट जेठ २२ गते बाँकी ३ जनाको रिपोर्ट पोजिटिव आएको जानकारी समेत इमेल मार्फत लिखित रूपमा नै दिएका हौं, भन्ने जवाफ पाएका छौं । यस सन्दर्भमा भएको के हो ? नगरपालिकाको मुख्य नेतृत्वको रूपमा रहनु भएको नगरप्रमुखले अन्तिम जवाफदेहिता लिंर्दै नगरपालिकाले वस्तुनिष्ठ तवरबाट छानवीन गरि गैरजिम्मेवारीको पराकाष्ठाको रूपमा रहेको यस प्रकरणमा संलग्न दोषीमाथि आम सर्वसाधारण नगरवासीले देख्ने गरि कारवाही गरि भविष्यमा यस्तो गैरजिम्मेवार प्रवृत्तिको पुनरावृत्ति नहुने सुनिश्चिता होस् । चरम लापरवाही गरि संक्रमित व्यक्तिलाई निजहरूको घरमा लगिएको कारण आज सो क्षेत्र सिल गर्नु परेको छ । त्यहाँका जनताले अत्यावश्यक किनमेलका लागि नजिकैको बजार जान सम्मबाट बञ्चित हुनु परेको छ । तसर्थ, आम सर्वसाधारणको जीवन र दैनिकीसँग जोडिने यस्तो विषयमा दण्डहिनता र जवाफदेहिविहिनताले प्रश्रय नपाओस् ।

साथै संक्रमित ३ जना व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्खलाई तिव्रता दिई निजहरूको सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखि कोरोना परिक्षणका लागि उनीहरूको तुरुन्त स्वाव संकलन गरियोस् । त्यस्तै संक्रमितसँग एउटै गाडीमा सवार नगर प्रमुख, सवारी चालक र नगर प्रहरी मात्र नभई बाँकी ६ जना तत्कालिन समयमा नेगेटिव रिपोर्ट देखिएका व्यक्तिहरूलाई समेत व्यवस्थित क्वारेन्टिनमा राख्ने व्यवस्था गरियोस् । उहाँहरू संक्रमित व्यक्तिहरु सँग गाडीमा अझ निकट दुरीमा रहनु भएको हुनसक्ने भएकोले यसलाई नजरअन्दाज नगरियोस् । सबैको स्वाव संकलन गरी तुरुन्त कोरोना परिक्षणको व्यवस्था मिलाइयोस् । संक्रमण पुष्टि भएका ३ जना व्यक्तिहरूको मात्र नभई उहाँहरुसँगै गाडीमा सवार नगर प्रमुख, सवारी चालक, नगर प्रहरी र बाँकी ६ जना व्यक्तिहरूको अविलम्व कन्ट्याक्ट ट्रेसिङ्ख गरी उहाँहरूसँग सम्पर्कमा आउनु भएका व्यक्तिहरूलाई गाडीमा सवार व्यक्तिहरूको परीक्षण नतिजा नआउँदासम्म कम्तीमा होम क्वारेन्टिनमा बस्ने प्रवन्ध मिलाउन समेत यसै विज्ञप्ती मार्फत नगरपालिका र सम्बन्धित पक्षसमक्ष जोडदार माग गर्दछौं भनिएको छ ।