झापामा सङ्क्रमितको सङ्ख्या १३८ पुगेको छ
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित क्वारेनटाइनमा बसेका दुई व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
अर्जूनधारामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको हो । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेनटाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो ।
क्वारेनटाइनमा बसेका ५२ जनामध्ये ४४ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि शनिवार बिहान कोसी कोभिड अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्ये अर्जुनधारा ९ बस्ने २३ र २७ वर्षिय पुरुषमा कोरोना भेटिएको हो ।
उनीहरू दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकडभिट्टा हुँदै आएका थिए । कोरोना पुष्टि भएपछि दुई जनालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ । संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका व्यक्तिलाई थप ७ दिन राखिने भएको छ । उनीहरूको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ । योसँगै जिल्लामा सङ्क्रमित पुष्टि भएको सङ्ख्या १३८ पुगेको छ ।