अञ्चल अस्पतालको व्यवस्थापकीय कमजोरीले सेवाग्राही भगाउँदै

झापा । संघीय सरकार मातहतमा रहेको मेची अञ्चल अस्पतालको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारमा सरेपछि अस्पतालभित्र सेवा लिन प्रवेश गर्ने सेवाग्राही अप्ठेरो मान्ने अवस्था सिर्जना हुँदै गएको छ ।

संघीय सरकारको व्यवस्थापनबाट प्रदेश सरकारमा हस्तान्तरण भएको अस्पताल सञ्चालनको जिम्मेवारी पाएको विकास समितिको बेवास्ताले सेवाग्राहीमैत्री वातावरण बन्न नसक्दा अस्पताल भित्र उपचारको आकर्षण घटाएको हो ।

अस्पतालका अधिकाम्स विशेषज्ञ डाक्टर तथा प्राविधिक कर्मचारी निजी क्लिनिक केन्द्रीत भएको दुखेसो सेवाग्राहीले गर्ने गरेका छन् । अस्पताल भवनमा रात बिताउनु पर्ने विरामी जीर्ण भवनको संम्रचना देखेर असुरक्षा महसुस गरिरहेका छन् । पछिल्लो समय कोरोना अस्पताल थपिने हल्लाले अस्पतालमा सेवा लिन नआए हुने भो भन्ने मानसिकतामा पुगिसकेका सर्वसाधरणको विश्वास जितेर व्यस्थापन पक्षले उपचार सेवा लिन सर्वसाधारण आउने वातावरण कहिले निर्माण गर्ने हो ? भन्ने प्रश्न उठिरहेका बेला अस्पतालको वर्तमान अवस्थावारे झापाली कम्युनिष्ट आन्दोलनका एक योद्धाको धारणाले हजारौं सेवाग्राहीको पीडा र आक्रोस पोखिरहेको छ ।

अस्पतालमा प्रवेश गरी फर्किएका साविक काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरे फेसबुक पेजमा लेख्छन् —“आज भद्रपुर अस्पताल परिसरको अवलोकन गर्ने मौका मिल्यो । यो अस्पताललाई प्रादेशिक अस्पताल बनाउने योजनामा प्रदेश सरकारले लगानी गर्दैछ भन्ने सुनिएको थियोे तर यो अस्पतालको अवस्था हेर्दा बैराग लागेर आयो । जहा ज्वरो आएका मानिसहरूलाई चेकजाँच गर्ने क्लिनिक सञ्चालन गरिएको छ, त्यहा सामाजिक दुरी कायमको कुराता परैजावस, जहा २ वटा फ्लेक्स बोर्ड झुण्डाइएर लेखिएको छ, त्यहाँ साबुन पानीले मिचिमिची हात धुनु भनेर लेखिएको छ । गज्जब कुरा के छ भने त्यसको वरिपरि कहिकतै साबुन नै छैन । के व्यवस्थापन समितिले दिनमा १, २ वटा हातधुने साबुन पनि राख्न सक्तैन ? किन यस्तो लापरवाही हँ ? सम्बन्धित निकाए के हेरेर बस्छ ?”

यता अस्पतलको व्यवस्थापकीय गुनासा बारे प्रश्न गर्दा मेडिकल सुपरिटन्डन डा. पिताम्बर ठाकुर कुनै कमजोरी नहुने गरी सरसफाइदेखि उपचार सेवा दिइरहेको बताउँछन् । डा. ठाकुरले सेवाग्राही लक्षित फिवर क्लिनिक छुट्टै राखिएको, ओपिटी सेवा सुचारू गरिएको प्रष्ट पार्छन् ।