काल बन्दै क्वारेन्टाइन
नाममात्रैको क्वारेन्टाइनमा अकालमा गुम्दैछ नागरिकको ज्यान !
काठमाण्डौं । आइतबारको संघीय संसदको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले कोरोनाबाट मृत्यु हुने भन्दा पनि क्वारेन्टाइन बसेर आत्महत्या गर्ने धेरै रहेको बताए । स्थानीय तहमा उचित क्वारेन्टाइन नहुँदा अकालमा त्यहाँ बस्नेहरुले ज्यान गुमाउनुपरको उनको भनाइ थियो । आत्महत्या गरेर होस् या अन्य विविध कारणले, क्वारेन्टाइन बस्नेको मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।
हाल देशभर १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् । त्यही क्वारेन्टाइनमा बस्नेहरु अहिले विभिन्न व्यवस्थापकीय कमजोरीका जोखिममा परेका छन् । क्वारेन्टाइनमा क्षमता भन्दा बढी बस्नुपर्ने, आवश्यक सेवा सुविधा र औषधिउपचार समेत नहुँदा क्वारेन्टाइनमा बस्नेहरु जोखिममा परेका हुन् । स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेहरु अधिकांश भारतबाट आएकाहरु हुन् । तिनै नेपाली नागरिक र नेपालभित्रबाटै पनि एक ठाउँबाट अर्को ठाउँमा गएका तथा संक्रमितको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा बस्दै आएका हुन् । त्यहाँ बस्नेहरु मध्ये केहीको मृत्यु भएको खबर आउँदा क्वारेन्टाइन कति सुरक्षित, स्तरीय र भरपर्दो भन्नेबारे प्रष्ट भएको छ । । अहिले देखा परेका अधिकांश संक्रमित क्वारेन्टाइनमा नै भेटिएका छन् । र, क्वारेन्टाइनमा रहेकामा यसको संक्रमण फैलिएको छ । त्यसमाथि एकपछि अर्को मृत्युका घटना आउन थालेपछि क्वारेन्टाइनमा बस्नेहरु थप चिन्तित बन्न पुगेका छन् ।
धेरैको गुनासो छ, क्वारेन्टाइनहरु मापदण्ड अनुसारका छैनन् । यो कुरा सरकारले पनि स्वीकार गरिसकेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा मुख्य समस्या छ । विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको समस्या भएको धेरैको गुनासो आउने गरेको छ । खानपानको कारण क्वारेन्टाइनमा रहेका व्यक्ति झनै बिरामी भएर मृत्युको मुखमा पुगेका छन् । यस्तै त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछयाएर भुँईमा सुत्नुपर्दा चिसोका बिरामीहरु पनि मृत्यु मुखमा पुग्ने गरेका छन् । त्यति मात्र नभएर ठाउँको अभावमा कोही विद्यालयको बरण्डा, र कोही चौरमा नै सुत्ने गर्छन् । कोरोनाभाइरसको कारण शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकास्थित विद्युत कार्यालयको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवक पनि एउटै कोठामा ५ जना साथीहरुसँग बस्दै आएका थिए । साँघुरो कोठामा बस्दै आएका ती पुरुष सानैदेखि रोगी रहेको पाइएको छ । यतिबेला उनीसँगै बस्दै आएका अन्य चार जना त्रासमा छन् । यसले अन्य व्यक्तिमा संक्रमण भएको नहोला भन्न सकिन्न । चारै तिरबाट विद्युत कार्यालय सिल गरिएको छ । यस्तो दयनीय अवस्थामा रहेको बेला सरकार, स्थानीय तह र प्रशासन मुकदर्शक बनेका छन् । यसअघि बाँकेका नरैनापुरस्थित क्वारेन्टाइनमा बस्दै आएका २५ वर्षीय युवाको पनि मृत्यु भएको थियो । उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
शनिबार भारतबाट आएर गुल्मीको क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरे । गुल्मीको छात्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । साँझ खाना खाने समयमा ट्वाइलेट जान हिँडेका परियार नजिकैको रुखमा आफ्नै टावेलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । खाना खान नआएपछि उनको खोजी गर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनसन्धानमा क्वारेन्टाइनमै राखिएको कारण उनले आत्महत्या गरेको हुनसक्छ । आफूसँगै भारतबाट फर्किएका (टाठाबाठा) केही व्यक्तिलाई क्वारेन्टाइनमा नराखिएको र आफूलाई राखिएको भन्दै परियारले आत्महत्या गरेको पाइएको हो । उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको र रिपोर्ट आउने क्रममा रहेको छ । यस्तै शनिबार राति डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भयो । शनिबार राति अचानक बालक बिरामी भएपछि अस्पताल लैजाँदै गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीको दावी छ । क्वारेन्टाइनमा मृत्यु भएका बालकको मृत्युको कारण नखुलेपनि डडेल्धुरा बहुमुखी क्याम्पसको सो क्वारेन्टाइनको अवस्था दयनीय रहेको बताइन्छ । यी त उदाहरणमात्रै हुन् हालसम्म क्वारेन्टाइनमा बसेका २ दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
क्वारेन्टाइन व्यवस्थापन कमजोर
स्थानीय जनप्रतिनिधिको सहयोगमा विदेशबाट नेपाल आउने जो कोहीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बाहिरबाट हेर्दा क्वारेन्टाइनमा राखिएको जस्तो भएपनि त्यहाँ बस्नेहरुको छुट्टै पीडा छ । भारतबाट दैनिक आउने मानिसहरुको संख्या बढिरहेको बेला क्वारेन्टाइन व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ । कोठा अभावको कारण देखाउँदै ३ हजार जना सम्मलाई एउटै भवनमा समेत राखिएको छ । संक्रमितको जुन ठाउँमा अधिक संख्या छ, त्यहाँ सकेसम्म मानिसलाई सामाजिक दुरी कायम गरेर क्वारेन्टाइनमा राख्नुपर्छ । तर, नेपालमा ठीक उल्टो छ । धेरै संक्रमित भएको क्षेत्रमा साँघुरो कोठामा चार÷पाँच जनालाई राख्नुपर्ने अवस्था छ । क्वारेन्टाइन नाम दिएर दिउँसै बत्ती बाल्नुपर्ने साँघुरो कोठामा बस्दै आएका व्यक्तिहरुलाई असजिलो महसुस हुने र श्वासप्रश्वासमा गाह्रो हुने भएकाले क्वारेन्टाइनमै मृत्यु हुने गरेको ललितपुर जिल्लाका स्वास्थ्य प्रमुख डा. खगेश्वर गेलाल बताउँछन् ।
शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राख्नुपर्ने हुन्छ । त्यसका स्वास्थ्य, सुरक्षा र सुविधाका मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । तर मापदण्ड पूरा हुन त टाढाको कुरा क्वारेन्टाइन समेत पर्याप्त नभएको अवस्था छ । भएका क्वारेन्टाइनलाई पनि क्वारेन्टाइनको परिभाषाभित्र समेट्न नसकिने पूर्वसचिव भीम उपाध्याय बताउँछन् । सरकारले तय गरेकै मापदण्डमा क्वारेन्टाइन बनाउन स्थानीय निकाय र प्रशासन असफल भएको उनको भनाइ छ । रोचक त के छ भने हालसम्म १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहँदा सरकारको आधिकारिक तथ्यांकमा ६५ हजारको हाराहारीमा मात्रै क्वारेन्टाइन बेड रहेका छन् । यसले पनि क्वारेन्टाइनको वास्तविकतालाई दर्शाउँछ ।
भारतबाट आउनेलाई नै क्वारेन्टाइन पुग्दैन
सरकारले भारतबाट मात्र नभएर अन्य मुलुकमा अलपत्र परिरहेका नेपाली नागरिकलाई ल्याउन पहल गरिरहेको छ । भारतपछि कोरोनाको कारण खाडी मुलुक साउदी अरब, युएई, मलेसिया, ओमन, कतारजस्ता मुलुकमा धेरै नेपालीहरु अलपत्र परेका छन् । तर, भारतबाट आउने नेपालीहरुलाई नै क्वारेन्टाइन नपुग्ने पाइएको छ । क्वारेन्टाइन व्यवस्थापन चुनौति बनिरहेको अवस्थामा सरकारले खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई ल्याएर कहाँ व्यवस्थापन गर्छ ? विदेशबाट नेपाली ल्याउने तयारी गरेपछि क्वारेन्टाइन व्यवस्थापन कसरी हुने विषय टड्कारो बनेको छ । विदेशबाट नेपाली ल्याउने काम सुरु भयो भने त क्षमताले धान्नै गाह्रो हुने छ ।