थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो
काठमाण्डौं । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।
प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन् । यस्तै धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् ।
विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।
यसैगरी प्रदेश नम्बर १ मा १ सय ३०, प्रदेश नम्बर २ मा ४ सय ४२, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा १७ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी १ हजार १ सय ७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्त डा. देवकोटाले बताए ।
पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ११ हजार ७ सय ४७, प्रदेश नम्बर २ मा ६ हजार ८ सय १८, बागमती प्रदेशमा २५ हजार २ सय ३१ र गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८ जनाको आरडिटी परीक्षण भएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा २० हजार १ सय ८५, कर्णाली प्रदेशमा १२ हजार ९ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६ सय १७ जनाको आरडिटी परीक्षण भएको छ । सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ । अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४ सय थान विभिन्न प्रदेशमा आरडिटी किट पठाइएको प्रवक्ता देवकोटाले बताए । यस्तै प्रदेशहरुमा ६ हजार थान भिटिएम पनि पठाइएको छ । अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् । हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।
झापाका संक्रमित २७ जनालाई शनिबार अस्पताल भर्ना
धरान । रातभर गेट बाहिर राखिएका झापाका कोरोना संक्रमित २७ जनालाई प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार बिहान ९ बजे अस्पतालमा भर्ना गराएका छन् । मन्त्री घिमिरे एकाबिहानै धरान पुगेर संक्रमितहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका हुन् ।
शुक्रबार कोभिड–१९ पुष्टि भएका जिल्लाका २७ जना संक्रमितलाई गएराति ११ बजेतिर धरान पुर्याइएको थियो । उनीहरुलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभर गेटबाहिरै बसेका थिए ।
जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित २ जना उपचार पछि घर फर्किएका छन् भने १ सय ५ जना उपचाररत छन् । उनीहरुमध्ये १० जनाको विराटनगर तथा ९५ जनाको धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।