झापामा सय वेडको कोरोना अस्पताल बन्ने
भद्रपुर । कोरोना संक्रमित विरामीका लागि झापामा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ ।
शनिबार बसेको सरोकारवालाहरुको छलफलले भद्रपुर अस्पतालनको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाउने टुङ्गो लागेको हो । अन्य विकल्पमा छलफल भए पनि अन्तिममा भद्रपुरको मेची अञ्चल अस्पतालको भवनलाई उपयुक्त हुने निष्कर्ष निकालिएको प्रदेश सभा सदस्य सांसद बसन्त बानियाँले जानकारी दिए । सांसद बानियाका अनुसार १ सय बेडको क्षमताको अस्पताल निर्माण गरिने छ ।
कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताए । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ । प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि सरोकारवालाहरु छलफलमा जुटेका थिए । कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अञ्चल अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो ।
अहिलेसम्म झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ३३ जना कचनकबल गाउँपालिकाका छन् । झापा गाउँपालिका, एक बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका एक/ एक जना निको भएर घर फर्किसकेका छन् ।