झापामा संक्रमितको संख्या ३६ पुग्यो

केन्द्र सरकारले वेलैमा ध्यान नदिँदा समस्या निम्तिएको : अन्जार आलम

भारतमा रहेका नेपालीलाई ल्याउनेबारे केन्द्र सरकारले वेलैमा ध्यान नदिँदा समस्या निम्तिएको गाउँपालिका अध्यक्ष अन्जार आलम बताउँछन् । सरकारले भारतमा रहेका नेपाली नल्याउँदा उनीहरू बाध्य भएर लुकिछिपी देश फर्कन बाध्य भएको उनको भनाइ छ । ‘भारतबाट सरकारले नागरिक कसरी फिर्ता ल्याउने हो वेलैमका सोचेन जसका कारण समस्या निम्तियो’, उनले भने,‘अवस्था भयावह हुने अवस्थामा छ ।’ अध्यक्ष आलमले व्यवस्थित क्वारेन्टाइन नहुँदा समस्या भएको बताए । ‘हामीसँग चार ठाउँमा क्वारेन्टाइन छ । भएका सबै भरिए । ती पनि व्यवस्थित छैनन्’, उनले भने, ‘एउटै कोठामा आठ जनासम्म राखेका छौँ । यसले गर्दा त्यही कोठामा बस्ने अरूलाई सर्छ कि भन्ने डर छ । केन्द्र सरकारले सहयोग गरे अलिक व्यवस्थापन गर्न सकिने थियो ।’

भारतबाट आएर क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षण पनि गर्न नसकिएको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले बताइन् । ‘२१० जना क्वारेन्टाइनमा छन् । ९८ जनाको स्वाब लिएर पठाएको छ । कसरी पर्याप्त भयो र !’, उनले भनिन्, ‘वेलैमा परीक्षण गर्न नसक्दा झन् खतरा बढेर गयो ।’ कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्ससम्म केन्द्र सरकारले पर्याप्त नदिएको उनको दुखेसो छ ।

झापाको कचनकवलमा पछिल्लो चार दिनको अवधिमा ३३ जना कोरोना संक्रमित भेटिएका छन् । रोजगारीबाट भारतको मुम्बाईदेखि फर्किएका ३३ जनामा संक्रमण पुष्टिएको भएको हो । सोमबार एक, मंगलबार ९, बुधबार मध्यरात १५ र बिहीबार ८ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । उनीहरू सबै खुला सीमाबाट लुकेर नेपाल प्रवेश गरेका थिए । भारतमा लकडाउन खुकुलो भएपछि जेठ लागेयता नै उनीहरू स्वदेश फर्किएका थिए । कतिपयलाई भारतीय प्रहरीले नै सीमासम्म ल्याइदिएको कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलम बताउँछन् । तर, सीमामा आएर नेपाल प्रवेश गरेका उनीहरू समुदायसम्म आइपुग्न नपाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए । ‘सीमामा आइपुगेका उनीहरूलाई हामीले सीधै क्वारेन्टाइनमा ल्यायौं’, उनले भने, ‘त्यसकारण समुदायमा फैलन्छ कि भन्ने त्रास कमै छ । जति संक्रमित छन्, उनीहरू सबै भारतबाट आएका हुन् ।’

सीमावर्ती कचनकव गाउँपालिकामा मात्र लुकिछिपी भारतबाट भागेर आएका २१० जना क्वारेन्टाइनमा छन् । संक्रमित ३३ जना नै पथरिया मावि र लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा थिए । कचनकव कोरोना संक्रमणको ‘हट स्पट’ बन्ने खतरा भएको प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ‘हाम्रो विज्ञको टोलीले अनुसन्धान गरिरहेको छ । उदयपुरको भुल्केको भन्दा यहाँ अझै धेरै संक्रमित देखिन्छन् कि भन्ने खतरा पनि छ’, उनले भने, ‘कचनकव अर्को हट स्पट बन्नसक्छ ।’

कचनकवलमा पछिल्लो चार दिनमा भेटिएका र आज झापा गाउँ पालिकामा भेटिएका एकसँगै झापामा संक्रमितको संख्या ३६ पुगेको छ । यसअघि दमक र बाह्रदशीका दुई जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।