झापाको कचनकवलमा २३ जना नया कोरोना संक्रमित थपिए

झापा  । झापाको कचनकवलमा आज एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएको छ ।

आज विहान झापा कचनकवलका १५ जनामा कोरोना पोजेटिभको रिपोर्ट सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अपरान्ह्र कोरोना सम्बन्धी मिडिया ब्रिफिङका क्रममा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसंगै झापामा एकै दिन २३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो समय थपिएका ८ जना पनि कचनकवलकै रहेको बताइएको छ । योसंगै झापामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । यस अघि कचनकवलमा १०, बाह्रदशी र दमकमा १÷१ जनामा संक्रमण देखिएको थियो ।

तीनदिनमा कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएका हुन् । भारतबाट एउटै समूहमा आएका ६५ जनाको पिसिआर नमूना परीक्षणका लागि स्वाब पठाइएका मध्ये विहिबार २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । उनीहरुको नमूना स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।

कोरोना पोजेटिभ देखिएका सबैलाई विहिबार नै उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ ।