घरमै छन् धेरै उपचार

कोरोना संक्रमणबारे जान्‍नैपर्ने तथ्य र गर्नुपर्ने काम

डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता विषय प्रस्तुत गर्ने जमर्को गरेको छु । अहिलेसम्म अधिकांश कोरोना संक्रमित महिलाले जन्माएका शिशुलाई कोरोना संक्रमण देखिएको छैन । पाठेघरस्थित एम्नियोटिक फ्लुइड, आमाको दूध आदिबाट शिशुलाई कोरोना सर्दैन । कोरोना स्वाशप्रश्वासबाट सर्ने भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ । तर सबैलाई सर्दैन । नवजात शिशु जन्मिएपछि आमाबाट अलग राख्नु उपयुक्त हुन्छ । अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन । कोरोना भाइरस स्वाशप्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे , झिंगाको टोकाइबाट सर्दैन ।खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ ।

कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ । सरसफाइ स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ । मास्क सही तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ । त्यसैले सही तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पुनस्प्रयोग नगर्ने र मास्कलाई सुरक्षित ठाउँमा विसर्जन गर्ने अभ्यास गर्नुपर्दछ । संक्रमित व्यक्तिले छुँदैमा तथा छोटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन । कोरोना भाइरस सर्न १ हजारदेखि ३ हजार भाइरस हाम्रो शरीरमा प्रवेश गर्नु पर्छ । यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा हाछ्युं गर्नुपर्ने हुन्छ । अन्यथा छोटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन भन्नेमा भर परे हुन्छ ।

कोरोना भाइरस हावाबाट सर्दैन । ६ फिटको दूरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ । हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्युँ गर्ने बानी तथा सिँगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ । सामूहिक शौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । यो जोखिमबाट बच्न शौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ । साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले शौचालय सफा गर्नुपर्दछ । त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ । चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसीले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ । अमेरिकामा भएको अध्ययनले पनि एसीको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ । तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ । संक्रमित नभएको परिवारमा पंखा र एसीले हानि गर्दैन । क्वारेन्टाइन धेरै सूचना लिएर कोरोनाबाट बच्न सकिँदैन । धेरै मिडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाव हुन्छ । तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ । टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ । जसले थप तनाव उत्पन्न हुन्छ । कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ । त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ । एकजनाले औसत ३ जनालाई संक्रमण सार्न सक्छ । कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो । १, २ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन । एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन । कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ । त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ । बालबालिका जोखिम वर्गमा पर्दैनन् । तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन् ।

कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुनेलगायत लक्षण हुनैपर्छ भन्ने छैन । हाल लक्षणविहीन कोरोना संक्रमण धेरै देखिएको छ । त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ । खानपान र सामान्य उपचार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिवार्य छैन । अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ । आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसँग दूरी कायम गर्दा ८५ प्रतिशत संक्रमितलाई निको हुन्छ । लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ । कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन । ८५ प्रतिशत संक्रमितमा सामान्य लक्षण देखिएर आफैं निको हुन्छ । मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ । मृत्युदर जम्मा ३ प्रतिशत हुन् । कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन । सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ । संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ २,३ महिनाको स्टोर गर्ने, तरकारी फलफूल हप्ताको एकपटक किन्ने, दूध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ । कोरोना भाइरस मार्नका लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ । तसर्थ सरसफाइ, सामाजिक दूरी र बाहिर एकदम कम समय जानेजस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ । हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन । साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ ।

गर्भवती र नाबालकको सुरक्षा नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा पिआरसी परीक्षण गरेर प्रसव गराएको भए आइसियुमा राखेर बचाउन सकिन्थ्यो । दोस्रो केसको हकमा पनि सुरुमा परिक्षण गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजलरसलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो । संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले विभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं । चीनलगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ । हामी पनि आशावादी हुनैपर्छ ।