पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा’
दमक । नेपाल प्रेस यूनियन झापाको, माइपश्चिम क्षेत्रीय समितिले दमक क्षेत्रमा क्रियाशील पत्रकारहरुको नि:शुल्क कोरोना वीमा गरिदिने भएको छ । माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको नि:शुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए ।
उनका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले सहयोग पुर्याँउने भएका हुन् । कोरोना भाइरस संक्रमण पत्रकारहरुमा समेत बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाँउ पुर्याँउन बीमाको व्यवस्था गर्न लागिएको उनले बताए ।
जोखिमका बाबजुद पनि सूचना प्रेषण गर्न अहोरात्र खटिआएका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य सुरक्षा प्रति यूनियनको माइपश्चिम क्षेत्रीय समिति चिन्तित भएकाले वीमा कार्यक्रम ल्याएको उनले वताए । विना भेदभाव क्रियाशीलका आधारमा निश्चित पत्रकारहरुको बिमा गरिने उनले जनाए । बीमाको नियमअनुसार विमीतलाई एकवर्ष भित्रमा कोरोना संक्रमण देखिए इन्स्योरेन्सले उपचार खर्च वापत रु १ लाख दिने छ ।
जिल्लामा पहिलोपटक नेपाल प्रेस यूनियन झापाको, माइपश्चिम क्षेत्रीय समितिले यस क्षेत्रका क्रियाशील पत्रकारहरुका लागि बीमा कार्यक्रम सञ्चालनमा ल्याईएको यूनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले जानकारी दिए ।