झापामा करोना संक्रमितको संख्या ३५
भद्रपुर । झापाको कचनकवल गाउँपालिकामा आज एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहान थप १५ जना थपिएकोमा अहिले दिउँसो आठ जना थपिएको हो । योसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो ।
यी मध्ये मङ्गलवार १, बुधवार ९ र बिहीबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा बसेका कोरोना पुष्टि भएका २३ जनालाई चार वटा एम्बुलेन्समा कोशी अस्पताल विरागटनर पठाउने तयारी भइरहेको जिल्ला विपद ब्यवस्थापन समितिका फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । उनका अनुसार बिहान १५ जना थपिएको हो, अहिले विराटनगर पठाउन लाग्दा थप आठ जनाको नाम आएको हो । बिहीबार संक्रमित देखिएका २३ जना नै प।रुष रहेका छन् । जसमा वडा नम्बर ३ का नौ जना, वडा नम्बर ४ का दश जना, वडा नम्बर ५ का तीन जना र वडा नम्बर ६ का एक जना रहेकाछन् । उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मको छ । उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका हुन् र सवैलाई स्थानीय कोरेन्टाइनमा राखिएको थियो ।.योसंगै बाह्रदसी गाउँपालिका एक र दमक नगरपालिकाका एक गरी झापामा संक्रमितको संख्या ३५ जना पुगे पनि बाह्रदशी र दमकका संक्रमित निकोभएर घर फर्किसकेकाछन् ।
झापाका सीमा नाकाबाट
तीन दिनमा सात सय भन्दा बढी नेपाली स्वदेश भित्रिए
भद्रपुर । भारतमा अलपत्र परेका नेपाली पूर्वी जिल्ला झापाबाट धमाधम स्वदेश फर्किन थालेका छन् । तीन दिनको अवधिमा झापाका सीमा नाकाबाट सात सय बढी नेपाल भित्रिएकाछन्् । यसैक्रममा आज एकैदिन साढे चार सय बढी नेपाल भित्रिएका झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । उनका अनुसार मङ्गलवार १५० र सोमबार ४८ जना नेपाल प्रवेश गरेका थिए ।
उनीहरू सबै भारतका विभिन्न राज्यमा रोजगारी, अध्ययन र घुम्न गएका थिए । कोरोना संक्रमणका कारण सीमा सिल भएपछि उनीहरू भारतमै अलपत्र परेका थिए । सबै भन्दा बढी काँकडभिट्टा नाकाबाट लुकिछिपी भित्रिएका छन् । काँकडभिट्टा नाकाबाट तीन दिनको अवधि करिब ५ सय बढी भित्रिएको बताइएको छ । त्यसपछि भद्रपुर, कचनकवल, झापा र गौरीगञ्ज नाकाबाट भित्रिएका हुन् । कचनकवलमा मात्रै करिब एक सय ५० बढी भित्रिएका छन् ।
नेपाल प्रवेश गरेका उनीहरूलाई स्थानीय तह र झापाका प्रहरी प्रशासनले नियन्त्रणमा लिएर सोजै क्वारेनटाइन पठाउन थालेको छ । नेपाल सरकारले अलपत्र नेपालीलाई स्वदेश फर्काउन लिखित आदेश नदिएपछि सीमा नजिकै आइपुगेका उनीहरू लुकिछिपी आउन थालेका हुन् । ‘भारतमा रेलसहित यातायातका सवारीसाधन चल्दा उनीहरू सबै जिल्लाका नाकाहरूबाट लुकिछिपी आएका हुन्,’ सहायक प्रमुख जिल्ला अधिकारी राईले भने, ‘लुकिछिपी झापाका सीमासम्म आइपुगेपछि उनीहरूलाई उद्धार गर्नु पर्ने हुन्छ, फेरि भारत पठाउन मिल्दैन, उद्धार गरिएका सबैलाई सुरक्षित रूपमा क्वारेनटाइन पठाउने काम भइरहेको छ । कसैलाई घर जान दिइएको छैन । ‘क्वारेनटाइनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरिन्छ, स्वास्थ्य देखिए मात्र घर पठाइन्छ,’ यसका लागि सबै निकाय लागि परेकाछन्, उनले भने
भारतका सीमा नाकामा रहेका नेपालीलाई ल्याएर राख्नका लागि जिल्लामा ९५० शय्याको होल्डिङ सेन्टर अर्थात् क्वारेनटाइन तयारी गरिएको छ । भद्रपुरस्थित मेची बहूमुखी क्याम्पसमा ३००, कलवलगुरीमा १००, बिर्तामोडस्थित कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युटमा २००, शिवसताक्षीस्थित राष्ट्र रमणीय आदर्श माविमा १५० दमकस्थित मानसरोवर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी र मदन भण्डारी प्राविधिक शिक्षालयमा एक एक सय गरी जम्मा ९५० बेडको होल्डिङ सेन्टर तयार गरिएको कोरोना सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीलाई झापाका सम्बन्धित पालिकाको क्वारेनटाइनमा पठाएर स्वास्थ्य परीक्षणपछि सम्बन्धित प्रदेश वा जिल्लामा पठाइने व्यवस्था गरिने उनले बताए । त्यसमध्ये मेची क्याम्पसमा १७० जना, कलवगुरीमा ७१, कञ्चनजङ्घा हेल्थमा २०० र दमकमा ३७ जना नेपाली नागरिकलाई राखिएको छ । उनीहरू सबै जना भारतबाट आएका हुन् ।