नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रदेश नं. ५ अन्तर्गत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको हो । उनको केहिदिनदेखि भेण्टीलेटरमा राखेर उपचार भईरहेको थियो ।
सोमबार कोरोना पुष्टी भएका उनको तिलोत्तमास्थित अस्पतलामा उपचार भईरहेको थियो । शिक्षक पेशामा आवद्द उनी गुल्मीको गुदाने गाउँपालिका पुर्कोटका हुन् । क्रिमसन अस्पताल प्रशासनले बुधबार बिहान उनको मृत्यु भएको पुष्टि गरेको छ । ‘जेठ १ गते गुल्मी मदानेबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै क्रिमसनमा भर्ना हुन आएका विरामीको जेठ ७ गते मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले भने ।

उनी कार्यरत विद्यालयको क्वारेन्टिनबाट उनलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । जेठ १ गतेबाट रुघाखोकी तथा ज्वरो आउने समस्या भएपछि सोमबार अस्पताल ल्याइएको थियो ।

यसअघि सिन्धुपाल्चोककी एक सुत्केरी र बाँकेको नरैनापुरको क्वारेन्टिनमा एक युवकको मृत्यु भईसकेको छ ।