झापाको कचनकवलमा ९ जना कोरोना संक्रमित थपिए
झापा । झापाको कचनकवलका ९ जना सहित २७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना झापाको कचनकवलका हुन् भने बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी प्रदेश नम्बर १ मा मात्र ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । झापाका कचनकवलका संक्रमितहरू सवै शनिवार भारतका विभिन्न शहरबाट फर्किएका र पाठामारी, केचना, घेरावारी नाका हुँदै लुकीछिपी प्रवेश गरी क्वारेन्टिनमा बसेका व्यक्ति हुन् ।
यसैगरी कपिलवस्तु मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । संक्रमितहरू केही दिनअघि भारतबाट फर्किएर मायादेवी गाउँपालिकाले बनाएको जनता प्राविमा रहेको क्वाररेन्टाइनमा बस्दै आएका थिए । संक्रमितहरु भारतको मुम्बैबाट बैशाख तेश्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए ।
आज मंगलबार २७ नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी पुष्टि गरिसकेको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या ४०३ पुगेको छ ।