झापा सदरमुकाम कोरोना संक्रमण जोखिममा अनावश्यक भीडभाड बढ्दै प्रहरी प्रशासन रमिते

भद्रपुर । नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको अवस्थामा अनावश्यक भीडभाड अन्त्य गर्न चोक चोकमा प्रहरी परिचालन गरिएको भए पनि झापा सदरमुकाम क्षेत्रमा भीडभाड रोक्न सकिएको छैन ।

सरकारको लकडाउन कडा गर्ने निर्देशन विपरित झापा प्रशासनकै कारण सदरमुकाम चन्द्रगढी भद्रपुर बजार तथा चौक चौकमा अनावश्यक भीडभाड भइरहेको भए पनि सुरक्षा निकायले नियन्त्रण गर्न नसकेको हो ।

बन्दाबन्दी कडा गरेर जनता बचाउँछु भन्ने ध्याउन्नमा सरकार लागेको भए पनि मातहतका निकायले निर्देशन पालना गराउन नसकेपछि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको हो ।

हरेक दिन बिहान ८ वजेदेखि १२ वजेसम्म खुल्ने भनिएको वजार क्षेत्र तथा चन्द्रगढी भद्रपुरका अधिकाम्स चौक, बजार र सडक किनारामा किनमेलको बाहनामा विहानै देखि सामान्य अवस्थाको भन्दा अधिक भीड बढ्ने गरेको भए पनि सडकमा खटाइएका प्रहरीले नियन्त्रण गर्न सकेका छैनन् ।

न्युनतम सुरक्षाको मापदण्ड समेत पालना नगरी अनावश्यक भीडले कोरोना संक्रमण त्रास बढाएको छ । हुन त बजार क्षेत्र तथा चौक चौकका गल्लीमा प्रहरी परिचालन भएको पनि देखिने गरेको छ तर पनि अनावश्यक भीड रोकिन सकेको छैन ।

पछिल्लो समय भारतीय सीमा नाकाबाट लुकीछिपी आउने मानिसको संख्या बढ्दै जाँदा कोरोना सर्ने त्रास स्थानीयमा बढ्दो रहेको छ । केही मोटरसाइकल, गाडी ग्यारेजका मानिसहरू पैसा लिएर मानिस वारपार गर्ने अवैध व्यापारमा लागेको समेत स्थानीयको भनाइ छ । त्यसैगरी नेपालबाट घरेलु मदिरा र गाई गोरू भारततिर लैजाने र भारतमा अलपत्र परेका भनिएका नेपाली नेपाल ल्याउने गिरोह सकृय रहेको सीमा आसपासका बासिन्दा बताउने गर्छन् । यस कार्यमा नेपाल भारत दुवै देशका सुरक्षाकर्मीको मिलिभगत रहेको बताइने गरेको छ ।