तीन जनामा देखियो कोरोनाको एन्टिबडी
नेपालगन्जमा भारतबाट ल्याइएका सात सय नेपालीको आरडिटी परीक्षण हुँदै,
नारायण खड्का
बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकानजिकै अड्किएका सात सय नेपाली नेपालगन्ज आइपुगेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले नाका रहेका ४० जिल्लाका सात सय नागरिकलाई शुक्रबार बिहान २ बजेसम्म उद्धार गरिएको जानकारी दिइन ।
भारतबाट नेपाल फर्किएकामध्ये सबैभन्दा धेरै कर्णालीका छन् । झापा, गोरखा, स्याङ्जा, दोलखा, नुवाकोट, दाङ, सल्यान, रोल्पालगायत जिल्लाका छन् । शुक्रबार उनीहरूको आरडिटी परीक्षण थालिएको छ । परीक्षण गरिएकामध्ये अहिलेसम्म तीन जनामा कोरोनाको एन्टिबडी देखिएको उपमेयर थापाले जानकारी दिइन् ।
‘भारतमा अलपत्र परेका र त्यहाँको क्वारेन्टिनमा बसेकाहरूलाई उद्धार गरेर स्वदेश फर्काइएको हो,’ थापाले भनिन् । भारतको बहराईच लगाएतका जिल्लाहरुको क्वारेन्टिनमा एक डेढ महिना बसेर अलपत्र परेकालाई उद्धार गरिएको उनले जानकारी दिइन् ।