भारतीय सिमाक्षेत्रमा नेपालीको चाप, लुकिछिपी छिर्न थाले नेपाल

राजु पौडेल

झापा । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अलपत्र परेका नेपालीको चाप झापाको भारतीय सिमाक्षेत्रमा देखिन थालेको छ । गत मंगलबारदेखि भारतमा रेलसेवा सञ्चालनमा आएपछि विभिन्न सहरमा अलपत्र परेका नेपाली सिमावर्ती शहर तथा क्षेत्रहरुमा स्वेदश टेक्न पाउने आशमा बसेका छन् ।

भारतको पश्चिम बंगाल र बिहार राज्यका सिमावर्ती क्षेत्रमा नेपालीहरु घर फर्कन पाउने प्रतिक्षामा छन् । अध्ययन, रोजगारी र भ्रमणको सिलसिलामा भारतको विभिन्न स्थान पुगेका नेपाली लामो समयको लकडाउनका कारण समस्यामा परेपछि स्वदेशको सिमासम्म आइपुगेका हुन् ।

रेलको यात्रा र घण्टौँ हिँडेर सिमाक्षेत्र सम्म आइपुगेका कतिपय नेपाली सिमामा खटिएका सुरक्षाकर्मीको आँखा छलेर नेपाल आइसकेका छन् । खुल्ला सिमाका कारण मकैबारी र चोरबाटो हुँदै केहीदिनयता मात्रै १६ जना नेपाली नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सिमाक्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेर परिक्षण समेत गर्न थालिएको छ ।

‘दरबंगादेखि नेपाल आइपुग्न ४ दिन लाग्यो’ हाल झापा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँचथरका सोमकुमार तामाङले भन्नुभयो, ‘हामी त राती छिरेका हौँ, धेरै नेपाली उतै हड्किएका छन् ।’

जिल्लामा भारतसँग सीमा जोडिएका मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवल, झापा र गौरीगन्जमा गरी १६ वटा वडा छन् । भारतले रेल खोलिदिएपछि नेपाल आउन खोज्ने नेपालीका कारण चुनौती थपिएको स्थानीय जनप्रतिनिधी बताउछन् ।

‘खुला सिमा छ, लुकीछिपी आउनेको संख्या बढ्दै छ’ झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह भन्नुभयो, ‘न समयमा स्वास्थ्य परिक्षण गर्न सकिन्छ, न कसैको सहयोग छ, यस्तो अवस्थामा संक्रमण फैलने जोखिम बढ्यो ।’

यस अघि लकडाउनका बेला नेपालमा रहेका भारतीयलाई नेपाल सरकारले र भारतमा रहेका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने सहमति भएको थियो । लकडाउन बढ्दै जाँदा नेपाल प्रवेश गर्न खोज्ने नेपालीको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले सीमापारि भारतमा अलपत्र नेपालीहरुको तथ्यांक संकलन सुरु गरिएको छ ।

‘भारतपट्टि रहेका झण्डै १२ सय नेपाली सम्पर्कमा आइसकेका छन्’ झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भन्नुभयो, ‘सरकारले आदेश दिनेबित्तिकै चरणबद्ध रूपमा उनीहरुलाई नेपाल प्रवेश दिने योजना छ ।’

उहाँका अनुसार सरकारबाट उनीहरुलाई प्रवेश दिन निर्देशन भएको खण्डमा आवश्यक व्यवस्थापनको तयारी भइरहेको छ । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस, भद्रपुरकै कलबलगुडी र मेचीनगर नगरपालिकाको आदर्श मावि आदि क्षेत्रका क्वारेन्टाइनको व्यवस्थापन भइसकेको छ ।

सिमावर्ती क्षेत्रमा आएर बसेका नेपालिहरुको व्यवस्थापनका लागि संघिय सरकारसँग आग्रह गरिसकिएको र निर्देशन हुनासाथ प्रवेश दिइने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमत्री हिक्मत कुमार कार्कीले बताउनुभयो ।

‘अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगबाट प्रवेश दिन हामीले पनि चाहेका हौँ’ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले भन्नुभयो, ‘यस सन्दर्भमा सम्बन्धित निकाय र संघमा कुरा पनि राखिसकेका छौँ, अब उहाँहरुको निर्णयको प्रतिक्षा गरौँ ।’