कमल गाउँपालिकामा बजार अनुगमन, दर्जन पसल कार्वाहीमा

कमल । जिल्ला स्तरिय आपूर्ति व्यावस्थापन, अनुगमन,नियन्त्रण समितीद्वारा बुधबार झापाको कमल गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको लकडाउनका कारण बजारमा अत्यावश्यक बस्तुको कृतिम अभाव र चर्कोमुल्य बृद्धि भएको जनगुनासो आएपछि बजार अनुगमन गरिएको हो । जिल्ला स्तरिय आपुर्ति व्यावस्थापन , अनुगमन, नियन्त्रण समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्व टोली गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको थियो । अनुगमनका क्रमममा व्यवसायीले अखाद्य बस्तु विक्री गरेको, मदिरा र खाद्यसामाग्री एउटै पसलबाट विक्री गरेको, उपभोग्य मिति समाप्त भएका सामान पनि विक्री गरिएको लेवल विनाका खाद्यसमान पनि टोलीले फेला पारेको छ । नियमविपरित विक्री वितरण गर्ने पसललाई सांकेतिक रुपमा ५ देखि २० हजार रुपैयासम्म जरिवाना गरेको जिल्ला स्तरिय आपुर्ति व्यावस्थापन, अनुगमन, नियन्त्रण समितीका सदस्य सचिव छविलाल खतिवडाले जानकारी दिए ।

अनुगमनका क्रममा कमल गाउँपालिका वडा नम्वर २ स्थित ममता किराना तथा भाडा पसललाई १० हजार रुपैया राजेन्द्र किराना तथा कोल्ड सेन्टरलाई १० हजार, नायक ट्रेडर्स लाई १५ हजार, ,गगनदेव किराना पसललाई लाई २० हजार र दिनेश किराना पसललाई ५ हजार र वडा नम्वर ४ स्थित रिमिक्स बजगाई किराना पसललाई २० हजार, रुपैया जरिमाना गरेको अनुगमन समितीका सदस्य भरतबहादुर पुरीले जानकारी दिए । त्यसैगरी वडा नम्वर १ स्थित भैरव सप्लायर्सलाई २० हजार जरिमाना गरिएको छ भने आस्था क्लिनिकलाई लगायत अन्य केहि व्यसायीलाई चेतावनी दिएको समितीले जनाएको छ । बन्दा बन्दीको मौका छोपी उपभोग्य मिति समाप्त भएका सामान, मूल्य बृद्धि नगर्न क्याम्पा बजार समितिले सुचित गर्दै आएको बजार व्यवस्थापन समिति दुर्गा अधिकारीले बताए । बजार समितिले दिएको सुझाब नमानेका कारण आज यी पसलहरु कार्वाहीमा परेको अध्यक्ष अधिकारीको भनाई छ ।

अनुगमन समितीले कमल गाउँपालिकामा मुख्य बजार क्याम्पा, सरङ्गपाडा, समयगढ, छलफल चोक लगायतका बजारको अनुगमन गरेको थियो । अनुगमन गरिएका पसलको दर्ता नभएका व्यावसायीलाई दर्ता गर्न, मुल्य सुचि अनिवार्य राख्नु पर्ने, सामान खरिद गर्दा र विक्री गर्दा बिललिने र दिने गर्न, उपभोक्तालाई गुणस्तर सामन मात्र विक्री वितरण गर्न सुझाव दिएको अनुगमन समितीले जनाएको छ ।