काँग्रेसले भन्यो : विपद् व्यवस्थापन कोषमा जम्मा भएको ३ अर्ब रकम स्थानीय तहलाई देऊ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारी कोषमा थन्किएर बसेको अर्बौ रकम स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणका लागि खर्च गर्न आग्रह गरेको छ । सरकारको विपद व्यवस्थापन कोषमा अर्बौ रकम जम्मा भएपनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको काँग्रेसले जनाएको छ । कोषमा करिब ३ अर्ब रकम जम्मा भएपनि सरकारले कोरोना नियन्त्रणका लागि खर्च गर्न नसकेको कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सरकारले रकम नदिँदा स्थानीय तहहरु सिमित स्रोत साधनकाबीच कोरोनासँग लडिरहेको उनले बताए । उनले भने, ‘‘सरकारको विपद व्यवस्थापन कोषमा पहिले पनि डेढ अर्ब थियो ।

अहिले कोषमा करिब ३ अर्ब रुपैयाँ जम्मा भएको छ । त्यो रकम कोरोना नियन्त्रणका लागि सिंहदरबारमा बस्ने सरकारले नभएर राहत बोकेर घरमै जाने स्थानीय सरकारको वडा अध्यक्षहरुले खर्च गर्ने हो । केन्द्रको सरकारको ढुकुटीमा जम्मा भएको रकम स्थानीय सरकारलाई राहतको लागि दिनुपर्ने भएपनि अहिलेसम्म स्थानीय तहमा त्यो रकम पुग्न सकेको छैन् ।’’ काँग्रेसले पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको समेत कोरोना परीक्षण गर्न माग गरेको छ । मंगलबार पहिलो पंक्तिमा रहेर काम गर्ने क्षेत्रका व्यक्तिहरुमा समेत संक्रमण देखिएको तर्फ संकेत गर्दै शर्माले व्यवस्थित रुपमा उनीहरुको परीक्षण गर्न आग्रह गरे । कोरोना परीक्षण दायरा बढाउन आग्रह गर्दै शर्माले सांसद विकास कोषको रकम पनि यसका लागि खर्च गर्न आग्रह गरे । एक नागरिकको जीवनभन्दा ठूलो सरकारी ढुकुटीमा जम्मा भएको पैसा नहुने भएकाले परीक्षणतर्फ ध्यान केन्द्रीत गर्न उनले सरकारलाई आग्रह गरे ।

अहिले श्रम, विद्यार्थी र वेरोजगारहरु जस्तै विभिन्न पेशा व्यवसायका व्यक्तिहरुपनि समस्यामा रहेकाले सबैलाई समेट्नेगरी राहतका कार्यक्रम ल्याउन पनि उहाँले आग्रह गरे । विभिन्न देशमा अलपत्र परेका नागरिकको उद्धारका लागि गम्भिरता देखाउन पनि उनले सरकारलाई आग्रह गरे । रोजगारी गुमाएर आएका हजारौँ नेपाली सीमानामा रोकिएर बसेको र केही नागरिकहरु लुकिछिपी नेपाल प्रवेश गरिरहेको तर्फ पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । लुकिछिपी नेपाल प्रवेश गरिरहेका नागरिकहरुबाट संक्रमण फैलिएको उल्लेख गर्दै शर्माले सीमा क्षेत्रमा रहेका नागरिक र अन्य मुलुकमा अफ्ठ्यारोमा परेका नागरिकलाई व्यवस्थित रुपमा स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न पनि आग्रह गरे । सरकारले कोरोना परीक्षणका लागि केन्द्र विस्तार र स्वास्थ्य सामग्री खरिदजस्ता राम्रो काम गरेपनि ढिलासुस्ती, अपारदर्शीता भएको उनले बताए । सरकारले व्यवस्थित र विश्वसंगठनको मापदण्ड अनुसारको क्वारेन्टाइनमा निर्माण गर्न नसकेको, कोरोनासँग जुध्नुपर्ने बेलामा प्रधानमन्त्री सत्ताको खेलमा लागेको शर्माले बताए । शर्माले अहिलेको सरकारले नैतिक र राजनीतिक रुपमा शासन गर्ने अधिकार गुमाएको ठहर कांग्रेसले गरेको बताए ।

नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सेनालाई फर्काउने विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको अभिछिन्न अधिकार रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विवाद समाधानका लागि सरकारले भारत र चीनसँग नेपाल सरकारले संबाद गर्नुपर्ने बताए । कुनीतिक र राजनीतिक प्रक्रियाबाट यसको पहल गर्नुपर्नेमा सरकार औपचारिक वक्तव्यमा राष्ट्रवादलाई प्रस्तुत गर्नमा मात्रै सिमित भएको बताए काँग्रेसले लक डाउनको अघिल्लो दिन स्थगित भएको एसईईको विषयमा अहिलेसम्म सरकारले केही नभन्दा विद्यार्थीहरु आफ्नो भविष्यप्रति चिन्तित भएको उनले बताए ।