आगलागीबाट करिव ७० लाख बराबरको क्षती

इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिव ७० लाख बराबरको क्षती भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागीबाट ३ घर पुर्ण रुपमा क्षति पुगेको छ । नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीका अनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो । घरमा रहेको २ वटा मध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो ।

आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको छ । नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो विहान करिव ५ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिनु पर्ने भएकाले समय लागेको गिरीले जानकारी दिए । आगलागीबाट घर पुर्ण रुपमा क्षति भएको पिडित परिवारलाई ५० हजार र लत्ता कपडा आज नै राहत स्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।