यो राष्ट्रवाद प्रभुको, यो देश कसको ?

खगेन्द्र संग्रौला

शासनको उच्चासनमा नेकपा डबलको ‘लाल’ सरकार, तल सडकमा राता प्लेटधारी वाहनहरुको लावालस्कर । म हिजो सुत्दा लकडाउन कायम थियो, बिहान उठ्दा हठात् यो के भयो ? त्यसैत्यसै छक्क पर्छु म । छापामार शैलीमा विना सूचना लागू गरिएको लकडाउन विना सूचना विसर्जन गरिएको पो हो कि ? कि सशक्त साहु कित्ताद्वारा यो पूरापूर तोडिएको हो ? अहिले मिरमिरे उज्यालो भएको छ । लकडाउनका आँखा छल्दै, भित्रभित्र डराउँदै घरहरुका बलेँसी मुनिमुनि प्रातः लमकतामा निस्केको छु म । उता चोकमा लकडाउनको रक्षार्थ दुई–चारजना प्रहरी बन्धु उपस्थित छन् । छाँटले लम्बेतान लकडाउनको धपेटीले ती थकित, गतिल र निस्तेज भएका छन् । तैतै यसो तिनलाई सोधूँ कि ? अहँ, मलाई डर लाग्छ । लकडाउनकालका तिनका पराक्रम हाउगुजी भएर मलाई तर्साउन आइलाग्छन् । त्यसैले त मलाई डर लाग्छ ! लकडाउनको बहानामा निरङ्कुशताप्रेमी सरकारले भयको माध्यमले नागरिकका मन–मस्तिष्कलाई गाँजेको छ । किन ? नागरिकको सातो लिन, उसको मनोबल मास्न, उसको नूर गिराउन, उसको अहंलाई निस्तेज तुल्याउन र उसलाई आफ्ना पैतालामुनि वशीभूत गर्न ।

रनभुल्ल म कसलाई सोधूँ ? सोध्नलाई आँखासामु कोही नभएर बिजुलीको लठ्ठामा बसिरहेको कागलाई सोध्छु म । अबाक् काग मैझैँ रनभुल्ल छ । यस्तैमा पत्रिका वाहक गाडी कुरिरहेका एक कवि झ्वाट्ट भेटिए । कवि उर्फ सिन्धुपाल्चोके, बाँडे गाउँले कवि ध्रुव । ‘नयाँ पत्रिका’का एक नित्य धावक, एक सदावहार योद्धा । सोधेँ—‘कविजी ! लकडाउनमा यी राता प्लेटधारी गाडीहरु किन, कसरी, कताका, कसका हुन् ?’ जानिफकार कवि उवाच— ‘सर, यी सरकारी ट्यापे, मुन्द्रे, झ्यापे, झ्याम्ले, घैँटे, पटके, चैते आदि इत्यादिका होलान् ।’ ‘हो र ? कसरी ?’ मेरा ओठबाट अनायासै प्रश्नका दुई तीर छुटे । ‘सर !’ कवि बाँडे गाउँलेले गुह्य कुराको पन्तुरो खोले, ‘नेकपा डबल एक भवसागर हो, सर । यसमा सर्प, बिच्छी, झुसिल्किरो सब अटाका छन् । नपत्याए हेर्नोस् न राता प्लेट भिरेका कारहरुको त्यो लामबन्दी । यी सब सरकारी पासवाला हुन् ! यी सब सरकारी भुसतीघ्रे, सरकारी सुकुलगुण्डा, र परजीवी बाबु साहेब !’ धाराप्रवाह कविवाणी लामै जाने छाँट देखेर मैले ‘हउल्ट’ भने ।

सोधेँ—‘कविजी ! लकडाउनमा यी राता प्लेटधारी गाडीहरु किन, कसरी, कताका, कसका हुन् ?’ जानिफकार कवि उवाच— ‘सर, यी सरकारी ट्यापे, मुन्द्रे, झ्यापे, झ्याम्ले, घैँटे, पटके, चैते आदि इत्यादिका होलान् ।’ ‘हो र ? कसरी ?’ मेरा ओठबाट अनायासै प्रश्नका दुई तीर छुटे । ‘सर !’ कवि बाँडे गाउँलेले गुह्य कुराको पन्तुरो खोले, ‘नेकपा डबल एक भवसागर हो, सर । यसमा सर्प, बिच्छी, झुसिल्किरो सब अटाका छन् । नपत्याए हेर्नोस् न राता प्लेट भिरेका कारहरुको त्यो लामबन्दी । यी सब सरकारी पासवाला हुन् ! यी सब सरकारी भुसतीघ्रे, सरकारी सुकुलगुण्डा, र परजीवी बाबु साहेब !’

कविजी पत्रिका वाहक गाडी चढेर वितरण अभियानमा हेलिए । म आफ्नै धूनमा लमक् पथमा लम्किएँ । अब मेरो तर्कनाको ताना अर्र्कोितर मोडियो । लकडाउनको निषेध कालमा हुनेखाने जनलाई किन चाहियो सवारी पास ? बेकारमा किन, कहाँ जान तिनलाई चलाउनु प‍र्यो कार ? तिनका घरमा सङ्कटकालीन रासन–पानीको जोगाड दह्रै होला । कम्ता पनि तिनको एकाध महिना त सुतीसुती चल्ला । केही अपुग भए उदारमना भाटभटेनी सुपरमार्केट छँदैछ । कुरो पैसाको छ । पैसो भए आफूले धाउनु पर्दैन, रकमपारखी भाटभटेनीबाट जे पनि धाएर घरैमा आउँछ । एक खेपमा पाँच हजार रुपियाँको जिनिस किन्ने गच्छे हुनुपर्छ । बस्, चुट्कीका भरमा कृपाकारी भाटभटेनी खुरुखुरु घरैमा ! अनि यस्ता सौभाग्यशाली जनलाई किन चाहियो सवारी पास ? आखिर यिनले सडकमा निस्कने कष्ट गर्नुप‍र्यो नै किन ? छाँटले नेकपा डबलको यो सरकार विभेदबर्द्धक सरकार हो । र हो यो, वर्गभेदक सरकार पनि । भन्नुमात्र हुँदैन, नाङ्गा आँखाले देखिने गरी हुनेखानेको सरकार हो यो । हुनेखानेको आफ्नो, गरिखानेको बिरानो । नामले सर्वहारावादी–जनवादी सरकार, कामले भतुवा पूँजीवादी–अगस्ती भोगवादी सरकार ।

माथिको लहडी खटनअनुसार सरकारी अड्डा र ब्याङ्कहरु लकडाउनमुक्त भए । खटनले साङ्केतिक भाषामा भन्यो— ‘गाडी हुने जागिर खान जाओ, गाडी नुहुने घरमै सुत ।’ ट्वीटे सौरभ ढकालका व्यङ्क्य–विनोदी वचनमा— ‘कार छैन, घरमा बस्नुस् । कार छ, काममा जानुस् । कारवादी सरकार जिन्दावाद !’ कार नहुनेप्रति सरकारको यो कृपा अपरम्पार छ । तर, तिनको तलब–भत्ताको नियतिचाहिँ के होला ? पछि दिनगन्ती गयलका हिसाबले तिनको तलब–भत्ता कट्टी होला शायद । कार हुने अड्डा सवार होओ, काम गर, तलब–भत्ता थाप, बाँच । काम नहुने घरैमा सुत, काम नगर, तलब–भत्ता–वञ्चित होओ, मर । सङ्कटकालको दुर्लभ रकम बचाउने सरकारको बुद्धि, जुक्ति, कौशल र दूरदर्शिता, अहो ! गरिब मरोस्, रकम बच्नुपर्छ । मान्छे मरोस्, बजार जिउनुपर्छ ।

लकडाउनको उर्दीमा ‘अत्यावश्यक’ भन्ने एउटा शब्द छ । सन्दर्भमा यसको अर्थ छ— लकडाउनको आम नियममा अपवाद हुन्छ । यो अपवाद भन्छ— कोरोना आतङ्कको संकष्टमा प्राण धान्न लकडाउनले मानिसलाई निकास दिन्छ । कोही सिकिस्त भए, ऊ अस्पताल जान पाउँछ । कोही भोकले मर्ने दशामा भए, ऊ आपसी दूरी मिलाएर गरिखान पाउँछ । अपवाद भन्छ— सन्की सरकारले भनेको गर्ने भए वास्तवमा ट्याक्सी लकडाउनमुक्त हुनुपर्ने हो । मेरो छिमेकमा किड्नीका दुईजना बिरामी छन् । तिनले हप्तामा दुई पटक डाइलसिस गराउनुपर्छ । नगराए प्राण जान्छ, गराउन ती अस्पताल जाऊन् कसरी ? गरिबले गरिखाने ट्याक्सी मालिकको लकडाउनमा कैद छ । एम्बुलेन्स एक त भनेको बेलामा पाइँदैन । पाइहाले त्यसले ट्याक्सीले भन्दा दश दोब्बर रकम निचोर्छ । मेरो छिमेकमा दुईजना ट्याक्सी चालक छन् । डेराको बास छ । खाने मुख चा–चारओटा छन्, कमाउने ज्यान एउटा छ । लकडाउनमा ट्याक्सी जाम भयो, र खाने मुखको माम हराम भयो । यी निमुखा चालकले गुहार माग्ने कोसँग ? रुने कोसँग ? आफ्नो वर्गको सरकार छैन । जुन वर्गको सरकार छ, त्यसले आफूलाई मान्छे गन्दैन । सडकमा लकडाउनको रक्षार्थ घोचा बोकोका प्रहरीजन छन् । जो होचो छ, उसका मुखमा यिनको घोचो जाकिन्छ । यी ट्याक्सी चालक मुखमा घोचो जाकिने वर्गमा परेर अताल्लिएका छन् ।

लकडाउनजीवी सरकार धम्कीको लबजमा भन्ला— लकडाउनको अत्यावश्यक संहिताको पालना गर्नु–गराउनु परेन ? अघाएको धनी सरकारलाई भोको गरिब सोध्छ— ख्वामित्, कहाँ छ लकडाउन ? यहाँ त लकडाउनका नाममा खालि भाँडभैलो पो छ । तरकारी बजारमा, सडक पेटीमा, बाहन बिसौनीमा, बाटो काट्ने दोबाटोमा, सिमानामा, कथित क्वारेन्टाइनमा कहाँ भएको छ सुरक्षित दूरीको पालना ? सुरक्षाकर्मीको स्रेस्ता भन्छ— प्रति दिन बाहिरबाट चार–पाँच हजार मानिस चोरी चालले उपत्यकामा भित्रिँदै छन् । ती चढेका ट्रक वा बसमा कहाँ भएको छ दूरीको पालना ? तिनको पैदल यात्राको लर्कोमा कहाँ भएको छ दूरीको पालना ? कोराना नियन्त्रण गर्ने दूरीको पालना केवल बहाना हो, लकडाउन भ्रष्ट सरकारका लागि शायद अर्को षड्यन्त्रको मौका हो । कमरेड ओम्नीको अर्को संस्करणको मौका ! अर्को विधि विध्वंशक अध्यादेशको मौका ! अर्को निर्लज्ज अपहरणको मौका !

नेकपा डबल हुनेखानेको । ओली सरकार हुनेखानेको । लकडाउनको लाभ हुनेखानेको । यो देश कसको ? हुनेखानेको । खाडी मुलुकमा जो स्वदेश फर्काइने सरकारी साइतको व्यग्र प्रतिक्षामा छन्, तिनको देश छैन, तिनको सरकार छैन । मालिकहरुको सरकार भन्छ— तिमीहरु त्यतै बस । लेखान्तरमा भाग्य भए त्यतै बाँच, भाग्य नभए त्यतै मर ! नेपाल–भारत सिमानामा गरिब श्रमिकरुका हृयदविदारक कथाको चाङ लागेको छ । कथा भन्छ— कतिपय श्रमिक भारतको क्वारेन्टाइबाट निकाला भई लखेटिए । तिनको बिल्लीबाठ भयो । ती अब जाऊन् कहाँ ? खोई तिनको देश ? खोई तिनको सरकार ? खोई दुःखमा तिनको सहारा ?

आफन्त र देश सम्झेर, कुम्लाकुटुरा बोकेर ती बाटो लागे । तिनमा बालबालिका थिए, गर्भिणी नारी थिए, वृद्धवृद्धा थिए, रोगी थिए, अशक्त थिए । ती कति त बाटैमा भोक, प्यास र थकाइले मरे । जो सिमानामा आइपुगे, पारिका सीमारक्षकहरुले तिनलाई निर्घात कुटे । र, वारिका सीमारक्षकहरुले तिनलाई उतै लखेटे । खोई तिनको देश ? खोई तिनको सरकार ? खोई दुःखमा तिनको सहारा ? गरिब श्रमिकहरुको यो दारुण दशाले जेबी टुहुरेको एउटा गीत सम्झाउँछ— ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ । लाखौँको लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ ।’ विडम्बनावश, जेबी टुहुरे अहिले त्यही दल र त्यही सरकारको झोला बोकेर निहुरमुन्टी ‘न’ भई लुखुरलुखुर हिँडिरहेका छन, जो यी मुठ्ठीभरको स्वर्गको रक्षार्थ कटिबद्ध छन् ।

कोरानाकालीन लकडाउन त वर्गीय छँदैछ । समाज र संस्कृतिका अन्य यावत् कुराझैँ विभेदकारी गोर्खाराजको राष्ट्रवाद पनि खसोखास वर्गीय छ । आखिर कालापानी–लिम्पियाधुरा–लिपुलेकको राष्ट्रवाद यसै त भन्छ । यो लहरा–छहरा–पहराको राष्ट्रवाद हो, गरिखाने मानिस, उसको संवेदना, उसको भावना, उसको संस्कृति, उसको स्वाभिमान र उसको प्रतिष्ठाको राष्ट्रवाद किमार्थ होइन । त्यसैले त तुफानी ट्वीटे डाक्टर रामेश भन्छन्— मौसमी राष्ट्रवादीहरुलाई ‘भारतभर र अझ आफ्नै सिमानामा भोकै–प्यासै बिचल्लीमा परेका नेपालीलाई आफ्नो देश फर्काउनेभन्दा कहिल्यै नफर्किने नाङ्गो डाँडो फर्काउने हतारो छ ।’

कोरोना कैरन :-

घुमिफिरी आफ्नै गुँडमा

सरकारका दुई अलङ्कार

हाम्रो सरकार, राम्रो सरकार

यस्तो दिन पनि आयो

विपतमा जसको देशै हरण भो

कोरोना युद्धका शहीदहरु

सरकारको अनुहार देखिने यो ऐना

लुकिँदैन, लडिन्छ र जितिन्छ

सरकार अस्वस्थ, स्वास्थ्य नीति बर्बाद

बाहुबली स्वास्थ्य नीति, सरकारी नरकयात्रा

दुई कोरोना विशेषज्ञ— तल पुन, माथि ओली

कोरोना कालमा छिमेकीको माया

धन्दा ठगीको, सरकार नेकपा डबलको

सरकार सनक सिं, लकडाउन सनक

सरकारका आँखा, प्रधानमन्त्रीको भाका