लिपी तथा मातृभाषा सिक्न नयाँ पुस्ताको उत्साह

दमकमा श्रीजङ्गा लिपी लेखन तथा मातृभाषा शिक्षा प्रशिक्षण सञ्चालन

दमक । कोरोना भाइरस (कोभिड–१९ ) फैलिन नदिन गरिएको बन्दबन्दीका कारण जनजीवन ठप्प भईरहेको वेला दमकमा भने बालबालिकाहरुलाई अनौपचारिक भाषिक प्रशिक्षण शुरु गरिएको छ । दमक १ को श्रीजङ्गा टोलमा जारी बन्दाबन्दीको सेरोफेरामा किरात सिरीजङ्गा लिपी लेखन तथा मातृ भाषा शिक्षा सम्बन्धी आधारभूत प्रशिक्षण सञ्चालन गरिएको हो ।

लिम्बु ,राई बसोवास बाहुल सो टोलमा भाषाविद सेसेमी से नाल्बोको अगुवाई तथा टोल विकासको आयोजनामा भाषा प्रशिक्षण शुरु गरिएको टोलकी अभियन्ता इक्सा सम्बाहाम्फेले जानकारी दिईन् । प्रशिक्षणमा सो टोलमा बसोबास गर्ने ५० बढी सहभागि छन् ।

प्रशिक्षणमा श्रीजङ्गा टोल विकास संस्थाकी अध्यक्ष रचना लावतीले भाषा लेखनका बारेमा सहजीकरण गरिआएकी छन् । पछिल्लो पुस्तामा आ–आफ्नो भाषा बोल्ने तथा लिपी लेख्ने चलन हट्दै गएपछि अबका पुस्ताहरुलाई कम्तीमा पनि किरात श्रीजङ्गा लिपी लेखन र मातृभाषा तर्फ जोड दिन प्रशिक्षण सञ्चालन गरिएको नाल्वोले वताएका छन् । टोलकी अध्यक्ष लावतीका अनुसार प्रशिक्षणमा लिम्बु, राई मात्र नभएर अन्य जातिका इच्छुकहरुलाई समेत किरात सिरीजङ्गा लिपी लेखन तथा भाषा प्रशिक्षण दिदै आएको छ ।

टोलमा भएका नानीहरु बन्दाबन्दीको समयमा आफनो मातृभाषा शिक्षा सिकाईमा मद्दत पुरयाँउन टोलले भाषा प्रशिक्षण कक्षा सञ्चालन गरेको टोलका सचिव तारा देवी राई बताउँछिन् । लिपी संरक्षण गरि मातृभाषा बचाउन यसरी नै अनौपचारिक सिकाई सञ्चालन गर्न सके मात्र यसले थोरै भएपनि सकरातमक प्रभाव पार्ने उनले वताईन् ।

यसैगरि दमक ७ स्थित पृथ्वी आधारभूत विद्यालयमा पनि केहि बर्ष देखि लिम्बु जातिको ऐच्छिक मातृभाषाको पठनपाठन हुदैआएको छ । सरकारले वनाएको पाठ्यक्रमका आधारमा कक्षा ५ सम्म लिम्बु भाषाको आनी पान नियमित रुपमा पठनपाठन हुदैआएको प्रधानाध्यापक विष्णु राईले वताएका छन् ।