बिर्तामोडमा निःशुल्क खाना वितरण शुरु

 

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि निःशुल्क खाना वितरण शुरु भएको छ । बन्दाबन्दीका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियान आजदेखि निःशुल्क खाना वितरण शुरु गरेको हो ।

लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले खाना वितरण शुरु गरेको अभियानका खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिनुभयो ।

गत वैशाख १९ गते मजदुर दिवसको दिनदेखि शुरु भएको अभियानले हालसम्म एक हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । अभियानले कम्तिमा दुई हजार परिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

पहिलो चरणमा खाद्य सामग्री वितरण गरेपछि दोस्रो चरणअन्तर्गत असक्त, सडकमै आश्रित, बिरामी कुरुवा, सडकमा अलपत्र नागरिकलाई खानाको प्रबन्ध गरिएको हो । अभियानले बन्दाबन्दी नखुलेसम्म हरेक दिन बिहान ९ देखि १२ बजेसम्म खाना वितरण गर्ने जनाएको छ ।

अभियानमा ३५ भन्दा बढी सामाजिक संघसंस्था र ४०० जनाभन्दा बढी व्यक्ति जोडिएका छन् । हालसम्म संस्थागत र व्यक्तिगत रुपमा देश तथा विदेशबाट रू ३६ लाख २० हजार भन्दा बढी रकम संकलन भइसकेको छ ।