असन्तुष्ट स्थायी समिति सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं । बैठकको माग गर्दै हस्ताक्षरसहित अध्यक्षलाई पत्र बुझाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० जना स्थायी समिति सदस्यहरुले आगामी रणनीतिबारे छलफल गरेका छन् । बैठक अनिश्चित भएपछि नेकपाको मुख्यालय धुम्बाराहीमा बिहीबार भेला भएका उनीहरुले विधान विपरित बैठक नबोलाएर नेतृत्वले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेका छन् । त्यस्तै उनीहरुबीच नेतृत्वले बैठक नबोलाए आफै बोलाउने विषयमा समेत छलफल भएको सहभागी एक सदस्यले बताए । भेलामा गत बैशाख १० गते बैठकको माग गर्दै हस्ताक्षरसहित पत्र बुझाउने सदस्यहरु सहभागी भएका थिए ।

उक्त भेलामा विधानअनुसार बैठक माग गरेको १५ दिनभित्र बैठक नबसेपछि के गर्ने भनेर छलफल भएको सहभागी नेताहरुले बताएका छन् । त्यस्तै नेतृत्वलाई बैठकका लागि अझै दवाव दिने निष्कर्ष निकालेको स्थायी समिति सदस्य देव गुरुगले जानकारी दिए । बिहीबारबाट सुरु हुने भनिएको स्थायी समिति बैठक बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अचानक बैठकको औचित्य नभएको भन्दै अरुचि देखाएपछि स्थगित हुन पुगेको थियो ।