आक्रमण प्रयास घटनामा भारतीय पक्षले माफी माग्यो

झापा । पश्‍चिम दक्षिणी झापा गाउँ पालिकामा रहेको नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले माफी मागेको छ ।

कोरोना संक्रमण रोकथामका लागि खटिएका नेपाली सुरक्षाकर्मीमाथिको आक्रमण भारतीय पक्षको दुस्साहसको चौतर्फी बिरोध भएपछि लचिलो भएको भारतीय प्रशासनले नेपाल भारतका स्थानीय प्रशासनको छलफलमा माफी माग्ने अवस्थामा पुगेको हो ।

झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो ।

सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

“भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए”, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भने, “हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उनीहरुले गल्ती स्वीकार्दै क्षमा मागे।”

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिए ।