हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द

झापा । सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्दसँगै आवत-जावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । यसअघि यो जेठ २ गतेसम्म हवाई उठानमाथि लगाएको प्रतिबन्ध थप गरी १८ गतेसम्म पुर्याएको हो ।

सरकारले चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रेड, एलो र गृन जोनमा विभाजन गर्ने त्यसै अनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेस गरेपनि प्रधानमन्त्रीले अस्वीकार गर्दा देशभर लकडाउन निरन्तरता पाउने भएको छ ।