एजेण्डालाई अन्तिम रुप दिन सचिवालय बैठक बस्दै
ओलीमाथि कयौं प्रश्नको जवाफ खोज्ने रणनीति तय
नेकपा सचिवालय बैठक आज बस्दै छ । भोली बस्ने स्थायी कमिटी बैठकका एजेण्डालाई अन्तिम रुपमा दिन आज सचिवालय बैठक बस्न लागेको हो । गत शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जिम्मा दिएको थियो ।
गत सोमबार र हिजो भएका छलफलमा बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच सहमति नभएपछि दाहाल र अर्का नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले छुट्टै भेलासमेत गरेका छन् । भेलाले भोली बस्ने स्थायी कमिटी बैठकमा एक ढिक्का भए प्रस्तुत हुने रणनीति बनाएको छ । आफूहरुले पत्र लेखेर बोलाएको बैठकमा सबै विषयमा खुलेर छलफल हुनुपर्ने अडानमा रहेको भेलामा सहभागी नेताहरुले बताएका छन् । असन्तुष्ट पक्षले सरकारले गरेका विवादित कामबारे उठेको मुद्दामा प्रधानमन्त्री ओलीमाथि कयौं प्रश्नको जवाफ खोज्ने रणनीति तय गरेको छ ।
विवादास्पद दुई अध्यादेश प्रकरणपछि पार्टी विभाजनको खतरा रहेको भन्दै २० जना स्थायी कमिटी सदस्यले पत्र लेखेर स्थायी कमिटी बैठकको माग गरेका थिए । अध्यक्ष दाहाल र नेता नेपाल पक्षका ती नेताले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै यही वैशाख १० इमेलमार्फत अध्यक्ष ओलीलाई पत्राचार गरेका थिए ।
यता, प्रम ओली आज बस्ने सचिवालय बैठकका लागि आफ्नो रणनीतिको तुरुप तयार पारेर निर्ढुक्क छन् । स्थायी समितिमा लैजाने एजेण्डा आफ्नो प्रतिकुल भएमा पूर्व माओवादीलाई एक्लाएर माधव र झलनाथ पक्षका सांसदलाई लिएर मन्त्री मण्डल गठन गरेर उनीहरुलाई आफ्नो पक्षमा ल्याउने तैयारीमाछन् ।
गृहमन्त्री बादल प्रमको पक्षमा ढल्किएकाले प्रचण्ड चिन्तितछन् । कतै बादलले माओबादी खेमाबाट आफ्नो खुट्टा झिके भने परिस्थिति अर्कै हुने आँकलन गरिएको छ ।