सत्ताको हात र पार्टीको साथले बिकल्प बेकार बन्दै

‘पावर र पद’ को चमकको उज्यालो टुलुटुलु हेरेर बस्नु पर्दाको पीडा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा युद्ध एकता भएको दुई बर्ष बितेको छ । यस अवधिमा दलबीच एकता त भयो तर त्यसले एउटा अबिधेशनसम्म गरिसक्न नपाउँदै बिबाद बढेको छ । देशमा स्थिरता दिने, आर्थिक समृद्धि ल्याउने, जनताका चाहनाको संबोधन गरी आर्थिक रुपले समृद्ध, राजनीतिक रुपमा स्थिरता कायम गरी राज्य सञ्चालनमा पद्धतिको बिकास गर्ने चर्का नाराबीच एकता भयो । यसै अनुरुप जनताका आँखाका धूल पनि छरियो । जनताले पनि सुने, पत्याए पनि ।

नेपालको राजनीतिक इतिहासमा नै धेरैको चासोको विचार साथ सम्पन्न भएको तात्कालिन एमाले र एमाओवादी नेतृत्वको एकता अहिले आएर प्रष्ट हँुदै गएको छ कि यो पछिल््लो राजनीतिक अवस्था र घट्नाक्रम हेर्नेे हो भने यो एकता केवल कृत्रिमता र सत्ता कब्जाका लागि दुइ पक्ष मिलेर रचिएको नाटक सावित भएको छ ।

एकताकापछाडि रहेको रहस्य

नेपाली राजनीतिका चतुर खेलाडी मानिने ‘प्रचण्ड’को सत्ता कब्जाको रणनीतिले स्थानीय निर्वाचनमा एमालेको उपस्थित देखिसकेका थिए । उनले सोचे अब नेपाली काँग्रेसभन्दा एमालेसँगै गठबन्धन बनाए सत्ता कब्जा गर्न सकिन्छ, अब सँगै जानुपर्छ । अन्यथा ओलीको हात पारेको सत्ताले प्रचण्डलाई सक्ने सम्भावना देखेर एकीकरण गर्न पुगे । अन्ततः त्यही भयो ।

प्रचण्डको सत्ता लालशा

ओलीको स्वास्थ्य स्थिति पनि त्यति धेरै आशा लाग्दो छैन भन्ने निक्र्योलमा पुगेका प्रचण्ड आफु दोस्रो स्थानमा रहेर पनि एकता गराए । ओली पछिको सत्ता आफ्नो हातमा पार्न । प्रचण्ड आफ्नो राजनीतिक मुद्दाले स्थापित हुन नसक्नु र आफू एक्लिदै जानाले एकता आफू सुरक्षित हुने देखे र त्यही गरे । अर्को पक्ष भनेको विदेशी को हस्तक्षेप बढ्दै जानु, छोरा प्रकाशको असामयिक निधनले शोकमा पनि रहेका प्रचण्डले त्यही कुराको पृष्टीलाइ थप मजबुत पार्न बाहेकको बिकल्प देखेनन् । यस्ता विभिन्न कुराले नै नेकपाको जन्म हुनपुग्यो ।

ओलीको महत्वाकांक्षा

केपी शर्मा ओली पनि कुनै त्यस्तो उपयुक्त वातावरणको खोजी गर्दै थिए कि, मौका पायो कि नेपाली कम्युनिष्ट आन्दोलनको सारथी बनेर इतिहास लेख्ने, बिद्रोर्ही शक्तिलाइ बिस्थापित गर्दै दक्षिण एसियाली कम्युनिष्टमा आफ्नो नाम विकासप्रेमी नेतामा स्थापित गर्ने आकांक्षा ।

सरसर्ती हेर्दा अन्ततः ओली र प्रचण्डका यस्ता आ–आफ्ना लालशा र स्वार्थले बनेको दलका निम्ति अहिलेको बिबाद प्रचण्डका लागि ‘आमा मरिहाल्छिन म पोइल गइहाल्छु’ भन्ने नेपाली उखान चरितार्थ भएको छ भने ओलीका लागि सुनको बञ्चरो पाउने ‘जंगले बञ्चरे’ को कथा साबित भएको छ ।

अन्ततः एकता त भयो, शक्तिशाली पनि बने । ओलीले न सत्ता छोडे, स्वास्थ्य अवस्था झन दह्रिलो हुँदै गयो । उनको सोचेको नाममा चम्काउने ‘तीर’ मा केही छाया परे पनि शक्तिशाली भने देखिए । तर प्रचण्डको हातमा भने केही परेन । कार्यकारी अध्यक्ष भनेपनि निर्णय भने सबै ओलीले नै भ्याइदिए ।

सरकारमा पनि ओलीले आफ्नो तरिकाले बेलगाम चलाएपछि ‘पावर र पद’ को चमकको उज्यालो टुलुटुलु हेरेर बस्नु पर्दाको पीडा छचल्किनु आम जनमानसले स्वाभाविक मानेका छन । ‘पावर र पद’ को स्वाद चाखेकाका लागि विभिन्न राजनीतिक दाउपेच किन नहोस त । यसै पनि सत्ताको हात र पार्टीको साथले चम्किएका बेला कसैको दम्भ नचल्ने भएपछि जतिसुकै दौडिए पनि किनारमै रहनुपर्ने अवस्थाबाहेक केही हात नपर्ने पक्कै छ ।