पश्चिम दक्षिणी झापामा भारतीयको दादागिरी : प्रहरीले गोली चलायो

झापा । पश्चिम दक्षिणी झापाको नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली सुरक्षा कर्मीमाथि बल प्रयोग गरी जवरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि गोली चलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सय बढी भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन् ।

झापा गाउँपालिका ४ स्थित सुकुम्वासी बस्ती नजिकै सोमबार बेलुका सो घटना भएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बादेखि सात किलोमिटर पूर्व १३१ नम्बर पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीले भारतीय नागरिक समूहलाई खेदाउन हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेसमकुमार थक्सूले जानकारी दिए ।

सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको उनको भनाइ छ । दुई जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए । फिर्ता गएका ती दुई भारतीय नागरिकले डेढ देखि दुई सय गाउँले भेला गरी पुनः सीमा लिएर आएका थिए ।

घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो । सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए । घटनामा कुनै मानवीय क्षति नभएको थक्सूले बताए ।

हाल त्यहाँ उच्च सतर्कता अपनाइएको छ । नेपालका सुरक्षाकर्मीले भारतीय एसएसबीको समन्वयमा सीमा सुरक्षा गरिरहेको बताइएको छ ।