नेपाल कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश: उदयपुरको भुल्के केन्द्रीत

झापा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण तेस्रो चरणमा प्रवेश गरेको विज्ञ समूहले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले मंगलबार एकैदिन उदयपुरका थप ११ जनामा कोरोना भएको पुष्टि गरेपछि संक्रमणले तेस्रो चरण प्रवेश गरेको प्रष्ट्याएको हो ।

योसँगै मुलुकभर संक्रमितको संख्या ४२ पुगेको छ भने चार जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो विवरण अनुसार प्रदेश १ को उदपुर जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको भुल्के कोरोना रोग संक्रमणको केन्द्रका रूपमा देखिएको छ ।

बाँकी उपचारमा रहेका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

शंकास्पद अवस्थामा आठ जनालाई मंगलबार उदयपुरबाट प्रतिष्ठान ल्याइएको र पुनः परीक्षण गर्दा सबैको स्वाब रिपोर्ट ‘पोजिटिभ’ आएको जनाइएको छ ।

यसअघि विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पनि उनीहरूको रिपोर्ट पोजिटिभ आएको थियो । थप परीक्षण गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार उनीहरूलाई उदयपुरबाट एम्बुलेन्समा राखेर धरान ल्याइएको थियो ।

त्यहाँ उनीहरूको स्वाब नमुना लिई ‘भेरिफिकेसन’ परीक्षण गरिएको जनाइएको छ । सरकारले प्रतिष्ठानलाई प्रदेश १ को कोरोना परीक्षण भेरिफिकेसन सेन्टर तोकेको छ ।

यस प्रतिष्ठानका विज्ञहरूका अनुसार कोरोना संक्रमण अब तेस्रो चरणमा प्रवेश गरेकाले संक्रमितको संख्या अधिक देखिन संक्ने संभावना रहन्छ ।
भुल्केस्थित नूरी मस्जिद छेउको बस्तीका ६० जना सर्वसाधारण र नौ कर्मचारीको गरी ६९ जनाको घाँटीको स्वाब नमुना शनिबार संकलन गरिएको थियो ।

कोसी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आठ जनामा संक्रमण देखिएको हो ।

एक जनाको रिपोर्ट आउन बाँकी छ । नेपाली सेनाको टोलीले मस्जिद भएको बस्तीका दुई सय ५१ जनाको घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं लगेको थियो ।

तीमध्ये तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबारको नियमित पत्रकार सम्मेलनमा जनाएको छ । २० जनाको रिपोर्ट आउन बाँकी छ ।

सेनाको छाउनी अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सक टोलीले स्वाबको नमुना संकलन गरेको थियो ।
नयाँ संक्रमण देखिएकाहरू दुई जना १८ वर्षका र दुई जना ४१ वर्षका पुरुष हुन् ।

संक्रमित अन्य २०, ३३, ४०, ५२ र ५८ वर्षका पुरुष छन् । महिलामध्ये एक जना ३६ वर्षकी र अर्कीको उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

योसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २४ पुगेको छ । यसअघि नूरी मस्जिदमा बसिरहेका ११ भारतीय र दुई नेपालीमा संक्रमण देखिएको थियो ।

संक्रमितहरूको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ ।

उनीहरूसँगै बसेका अरू तीन जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ ।
उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश सरकारले मंगलबार उदयपुर जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जिल्लाभित्रै र यहाँबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्णरूपमा लकडाउनका साथै जिल्ला सिल गर्ने निर्णय गरिएको बताए ।

उनले भने, ‘जिल्ला सुरक्षा समितिले निर्णय गरी सर्वदलीय संयन्त्रको साथ र सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं ।’

स्थानीय प्रशासनले जिल्लाभर लकडाउन गरिसकेको र सिल गर्ने तयारी गरिरहेको कार्कीले बताए । यसअघि मुस्लिम समुदायलाई स्वास्थ्य जाँच नभएसम्म बाहिर ननिस्कन प्रशासनले भनेको थियो ।

शुक्रबारै नूरी मस्जिदसमेत ‘सिल’ गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएको भुल्के क्षेत्रमा अन्यत्रबाट आउजाउमा पूर्ण प्रतिबन्ध लगाइएको थियो ।

त्यस क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले चौबीसै घण्टा सुरक्षा दिइरहेका छन् ।

भारत र अन्यत्रबाट आएका व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि उनीहरू बस्दै आएका स्थान र आसपास उच्च सुरक्षा सतर्कता बढाइएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

अहिले पनि गाउँबाट कसैलाई बाहिर निस्कन नदिइएको उनले जनाए ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अब भुल्केका प्रत्येक व्यक्तिको स्वाबको परीक्षण गर्ने नीति लिएको समेत बताए ।

‘कन्ट्याक्ट ट्रेसिङमा नूरी मस्जिदमा आएका, अन्य मस्जिदका ३५ जना धर्मगुरु बसेका र बाँकी ६ वटा मस्जिद भएको बस्तीका स्थानीयको समेत पीसीआर परीक्षण गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘मस्जिद भएको बस्तीबाट अन्य बस्तीमा कोरोनाको संक्रमण फैलिन नदिन पहिले पूर्णरूपमा लकडाउन र सिल गर्ने नीति लिएका छौं ।’

लकडाउन र सिलपछि क्रमिक रूपमा घाँटीको स्वाबको नमुना संकलन गरी परीक्षण गर्ने उनको भनाइ छ । उनका अनुसार भुल्केमा लकडाउन हुनु एक साताअघिदेखि को–को कहाँ गए र कहाँबाट आए भन्ने तथ्यांक लिने काम भइरहेको छ ।

उक्त तथ्यांकका आधारमा स्वाब परीक्षण गरेर संक्रमण फैलिएको कारण र व्यक्ति पत्ता लगाइने उनले बताए ।
नूरी मस्जिदमा बसेका र संक्रमण पुष्टि भएका १३ जनासहित १६ जनाको प्रारम्भिक ट्राभल हिस्ट्रीले उनीहरू गत चैत १ मै आएको देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले उनीहरूलाई १५ दिनयता संक्रमण भएको अनुमान गरेका छन् । यसले संक्रमण कहाँबाट भयो भन्ने अन्योल देखिएको छ ।

मस्जिदमा बाहिरबाट आएकामा मात्र होइन आसपासमा बसोबास गर्ने स्थानीय मुस्लिम समुदायमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. जयवेन्द्र यादवको नेतृत्वमा आएको चिकित्सक टोलीले मस्जिद आसपासको बस्तीबाट ६९ जनाको स्वाब नमुना संकलन गरेर लगेको थियो ।

जसमध्ये संक्रमण देखिएका चार जना एउटै परिवारका रहेको उदयपुर स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए । उनीहरू बाबुछोरा, ज्वाइँ र भान्जा हुन् । अन्य चार जना भने छुट्टाछुट्टै परिवारका घरमूली हुन् ।
यसबीच, प्रहरीको अनुसन्धानले भुल्केमा दुई जना संक्रमित विदेशबाट आएको देखाएको छ । एक जना दुबई र अर्का एक दिल्लीबाट आएको पाइएको हो ।

उनीहरूमा यसअघि नै संक्रमण थियो, थिएन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘उनीहरू आएको मितिसमेत अहिलेसम्म यकिन भइसकेको छैन ।’

भुल्के गाउँनजिकै रहेको अर्को मोथियाहीस्थित मस्जिदमा भने संक्रमितको १६ जनाको टोली नपुगेको तर सप्तरीका केही मानिसलाई चैत ११ मा भने पैदलै पठाइदिएको स्थानीय मोहमद बरकत मियाँले बताए ।