उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ देखियो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

उदयपुरबाट शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

५३ परिवारका ६० जना, जिल्ला स्वास्थ्य प्रमुख, उनका सवारी चालक, दुई जना स्वास्थ्य कर्मचारी र ५ जना सुरक्षाकर्मीको स्वाब धरान ल्याइएको थियो ।

यी मध्ये ८ जनालाई परिक्षणको पहिलोचरणमा कोरोनाको जिवाणु पाइएको हो । यसैबीच कोरोना पोजेटिभ देखिएका ८ जनालाई उपचारका लागि धरान लगिएको छ ।

उनीहरुलाई एम्बूलेन्समा चढाएर उदयपुरबाट लगिएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए ।

बिहान ११ बजे नै २ वटा एम्बूलेन्समा हालेर उनीहरुलाई धरान ल्याइएको हो । त्रियुगास्थित भुल्केको मस्जिदमा १३ जनामा संक्रमण देखिएको थियो ।

११ भारतीय र १ नेपालीमा गत शुक्रबार संक्रमण पुष्टी भएको थियो । त्यस्तै उनीहरुसँगै बस्दै आएका विराटनगरका ६५ वर्षीय व्यक्तिमा गत शनिबार कोरोना पुष्टी भएको थियो ।

आज कोरोना संक्रमण पोजेटिभ देखिएका ८ जना मस्जिद वरिपरी घर भएका मुस्लिम समुदाय हुन् ।

कोशी अस्पतालमा भएको परीक्षणपछि त्यसको क्रस भेरिफाइ गर्न अहिले सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः पुरीक्षण भइरहेको बताइएको छ ।

प्रतिष्ठानले आज त्यसको नतिजा दिने बताइएको छ । विराटनगरमा कोरोना पोजेटिभ देखिएका सबैजना अलग–अलग परिवारका हुन् ।

उनीहरुका परिवारका अन्य सदस्यको स्वाब भने नेपाली सेनाको टोलीले संकलन गरेर काठमाडौं लगेको छ । त्यसको रिपोर्ट पनि संभवतः आजै आउनेछ ।

आइतबार भुल्के आएको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले दुई दिन लगाएर २ सय ५२ जनाको स्वाब संकलन गरेर काठमाडौं लगिसकेको छ ।