अध्यादेशको सन्देश, राजनीतिमा अस्थिरताको औपचारिक प्रवेश
नेपाल मात्र होईन पूरै विश्व कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने र सकेसम्म चाँडो नियन्त्रण गरेर सुखको श्वास लिने भनेर तड्पिईरहेको छ ।
यतिबेला अरु सबै एजेन्डा तपसिलमा परेका छन् भने महामारीबाट मुक्त हुने एकमात्र प्रयाशमा छ विश्वजगत । तर कोरोनाबाट तुलनात्मक रुपमा अहिलेसम्म बचेको हाम्रो देश नेपालमा भने सत्तारुढ दलले रमिता देखाउन थालेको छ ।
नागरिकहरु सडक र राजमार्गहरुमा खुला आकाशमुनि विश्राम गर्दै भोकै प्यासै गन्तव्यतिर गैरहेका छन् । उनको व्यथासँग सरकार न प्रतिपक्ष उदासिन देखिन्छन् । सर्वत्र आलोचना र विरोध भैरहँदा समेत यसको उचित सुनुवाई भैरहेको छैन ।
नेकपाका अध्यक्षहरुको सत्ता स्वार्थ र दाउपेचको परिणाम स्वरुप देशको ध्यान आकस्मिक सेवाको साटो राजनीतिको बेमौसमी बाजाको धुन सुन्न वाध्य भएको छ । यो समय कुनै पनि किसिमले राजनीतिको एजेन्डामा अल्झिने र सत्ता दाउपेचको चलखेल गर्ने थिएन र होइन ।
सरकारले जेजसरी कोरोना संक्रमणको अतिक्रमण नियन्त्रणको प्रयाश गरिरहेको थियो, नागरिकले यसलाई साथ दिईरहेका छन् । समयको तापमान साधारण छैन, असाधारण अवसरमा यसरी निहीत राजनीतिक उदेश्य परिपूर्ति गर्न सत्तारुढ दल नै सहभागी हुनु दुर्भाग्यपूर्ण अवस्था हो ।
आन्तरिक राजनीतिक खिचातानीको परिणाम आफ्नो पक्षमा पार्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै दलबदल सम्बन्धी ऐनलाई आफू अनुकूल खुकुलो पार्नेगरी मन्त्रीपरिषद्बाट अध्यादेश स्वीकृत गराए ।
विपक्षी दलको अस्तित्व नै अस्वीकार गरेझैं गरी संवैधाकि परिषद् सम्बन्धी ऐन समेत अध्यादेशबाटै बदलेर उनले राष्ट्रपतिकहाँ पठाए । त्यतिमात्र होइन राष्ट्रपति विद्यादेबी भण्डारीले सोमबारै दुबै अध्यादेश स्वीकृत गरी जारी समेत गरिन् ।
यो तिव्र गतिको राजनीतिक बिकास किन र केका लागि भनेर सर्वत्र चिन्ता र चासो गरिएको छ ।
सामान्यतया आलोचना सुन्न नचाहने प्रधानमन्त्री ओली मिडिया र आलोचकप्रति आक्रामक हुने गर्छन् । अब त शासन संचालनमा आईपर्ने अवरोध पन्छाउन उनले संकटका बेला अध्यादेश ल्याउने काम समेत गरिसके ।
प्रधानमन्त्रीको यस्तो रवैयाले भविष्यमा संसद्मा विपक्षीको अवरोध आयो भने के उनी संसद्कै विकल्प पनि खोज्न पछि हट्लान त भन्ने प्रश्न पनि उठेको छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ६९ वर्षीय ओलीले जवान मिर्गौलाले आफूलाई बढी काम गर्न उक्साईरहेको भनेर भन्ने गरेका छन् ।
ओलीले सरकारी समाचार पत्र गोरखापत्रसँग भनेका थिए – ‘साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गौला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन । जवान मिर्गौलाले बढी काम गरौँ भन्छ ।
उसले बढी पानी खा, व्यायाम गर भन्छ । म कोरोना प्रकोपको रोकथाम र नियन्त्रणमा लागिरहेको छु । यसमा सक्रिय रहँदा मलाई एक प्रकारको व्यायाम मिलको छ ।’ जवान मिर्गौला लिएर जवान भएका ओलीले जवानीकै जोशमा शासन सत्तालाई गति दिन खोजेको देखिन्छ ।
पार्टीभित्रका सशक्त प्रतिपक्षी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका सदस्य नेताहरुलाई अध्यादेश जारी नै भैसकेपछि यसमा विवाद गरेर केही फाईदा छैन भन्ने जवाफ दिएर ओलीले आफ्नो राजनीतिक मार्ग सफा गरेका छन् । उनले विपक्षको त गणना नै नगरेको प्रष्ट भैसकेको छ संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको नयाँ प्रावधानले ।
यसबाट के देखिन्छ भने प्रधानमन्त्री ओली राज्यका सबै अंगमा एकछत्र आधिपत्य जमाउँदै शासन गर्न चाहन्छन् ‘एको हम् द्वितियो नास्ती’ शैलीमा ! तर उनको यो चाहनाले साकार रुप धारण गर्न भने त्यति सजिलो देखिँदैन ।
यता प्रमुख विपक्षी नेपाली कांग्रेसले मंगलबार औपचारिक रुपमै सरकारको पछिल्लो निर्णयबारे प्रतिक्रिया जनाउने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सांकेतिक भाषामा ‘बेमौसमी बाजा नबजाऔं !’ भनेका छन् ।
उनले ‘संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ’ भनेर प्रतिक्रिया जनाएका छन् ।
नेकपा अध्यक्ष दाहाल पनि ताजा राजनीतिक घटनाप्रति कम जिम्मेवार छैनन् । उनले विपक्ष र आफ्नै पार्टीका शीर्षस्थसँग मिलेर सरकारमाथि दवाव सिर्जना गर्न सक्दो प्रयाश गरेका थिए । ओली मिर्गौला फेर्न अस्पताल बसेका बेला पनि दाहाल राजनीतिको सतरंजामा पासा फालिरहेकै थिए ।
ओली बालुवाटार फर्केपछि र कोरोना महामारीले लकडाउन गर्न वाध्य पार्दाको समयलाई पनि दाहालले ओदानमा मासु पकाउँदै गरेको तस्बिर बजारमा पठाउँदै दाउपेचको राजनीतिलाई निरन्तरता दिईरहेको देखियो ।
निरन्तरको दवावले ओलीलाई पार्र्टीिभत्रको विपक्ष र संसद्को प्रमुख प्रतिपक्षलाई एकैपटक प्रहार गर्ने मौका मिल्यो । यसकै परिणाम मानिएको छ नाटकीय शैलीमा आएको एकजोर अध्यादेशलाई । यसलाई राजनीतिक अस्थिरताको महत्वपूर्ण कडीका रुपमा समेत लिईएको छ ।