नेकपामा चर्कियो द्वन्द, मधेशी दलहरु सरकारमा जाने
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षको तापक्रम बढ्दै जाँदा पार्टी विभाजनको विद्यमान व्यवस्था परिवर्तन गर्ने स्थिति बनेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीचको शक्ति संघर्षको परिणाम पार्टी विभाजन गर्न आवश्यक पर्ने शर्तलाई परिवर्तन गर्दै नयाँ र सजिलो शर्त राखेर सरकारले अध्यादेश ल्याउन लागेको थाहा भएको छ । सरकारले केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको प्रधानमन्त्री निकट सूत्रले बताएको छ । आज सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयले नयाँ राजनीतिक समीकरणको बाटो खोलेको पनि सूत्रले बताएको छ । यसअघिको व्यवस्था अनुसार, पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने थियो ।
कार्यकारी अध्यक्ष दाहाललाई जवाफ दिने उदेश्यले प्रधानमन्त्री ओलीले यस्तो अध्यादेश ल्याउने निर्णय गरेको बुझिएको छ । दाहालले नेकपाकै नेताहरु माधव नेपाल, झलनाथ खनाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरी प्रधानमन्त्रीमाथि दवाव बढाउँदै लगेको कारण ओलीले नयाँ चाल चलेको बताईएको छ । मधेशवादी दललाई साथ लिएर दाहाललाई कज्याउने रणनीति अनुसार नै दल विभाजनको नयाँ शर्तसहितको अध्यादेश ल्याउने निर्णय गरिएको जानकार सूत्रले बताएको छ ।
यता अर्को एक सूत्रले बताए अनुसार, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालको एक समूह सरकारमा जानेगरी फुट्ने तयारीमा छ । उपेन्द्र, बाबुराम भट्टराई र अशोक राईसँग ४० प्रतिशत सांसद अलग्गिएर छुट्टै पार्टी बन्ने र सरकारमा सहभागी हुने तयारी भएको सूत्रले संचार माध्यमलाई बताएको छ । प्रतिनिधि सभामा १७ र राष्ट्रिय सभामा १ सिट रहेको यो पार्टीका को को नेता अलग्गिन तयार रहेका छन् भन्ने सम्बन्धमा सो पार्टीका आधिकारिक पदाधिकारीबाट पुष्टि हुन सकेन । तर पार्टी अलग हुँदा हस्ताक्षर गर्न उपस्थित हुनुपर्ने नेताहरु काठमाडौंमा जुटिसकेको थाहा भएको छ त्यसैगरी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल पनि ओली नेतृत्वको सरकारमा जान तयार भएको बताईएको छ । सरकारमा जाने सहमति भएपछि राजेन्द्र महतो स्वास्थ्य मन्त्री बन्ने सम्भावना रहेको सूत्रले बताएको छ भने वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सूचना प्रविधि तथा संचार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।