शहरका सबै मानिस कठोर छैनन्

अतिन आचार्य

काठमाडौं । लकडाउन २८ दिनमा प्रवेश गरेको छ । लकडाउन सुरु भएपछि काठमाडौंका केही युवाको दैनिकी फेरिएको छ । विभिन्न संघसस्थामा लागेका शिक्षित युवाहरु खान नपाएका मानिस, मजदुर तथा विपन्न वर्गहरुको घर खोज्दै हिँडिरहेका छन् । तिनै दिनदुःखीहरुको सेवामा तल्लीन युवा नारायण ढकाल यतिखेर गरिबहरुलाई खाना व्यवस्थापन गर्न व्यस्त छन् । चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि सबैभन्दा बढी आपत् गरिबलाई भएको छ । पहिलो दिन पशुपति क्षेत्रदेखि मजदुर तथा बेसहारा मानिसलाई ख्वाउन थालेको उनी बताउँछन्। दैनिकजसो सडकमा रहेका बेसहरा र मजदुरलाई खाना ख्वाउने गरेका थिए । उनले त्यहाँ १२ दिनसम्म खाना खुवाए । पशुपति क्षेत्र विकास कोषले पनि सडकमा रहेका बटुवालाई खाना खुवाउन थालेपछि उनले अन्य क्षेत्रमा यो काम सुचारु गरेका छन् ।

नयाँ बानेश्वरको सुकुम्बासी र गोकर्णेश्वरको बाटुले चौरमा खाना खुवाइरहेका छन् । निम्न आय भएका, बेसहरा र मजदुर वर्गलाई खाना दिइरहेको उनी सुनाउँछन् । दिनको दुईपटक खाना खुवाइरहेका छन् । बिहान १० र साँझ ४ बजे । ’लकडाउन भर सुकुम्बासी र बाटुले चौरमा कसैलाई भोकै रहन दिन्नौँ,’ उनले भने । ‘दैनिक एक हजार मानिसलाई खाना खुवाइरहेका छौँ,’ उनले भने,’लकडाउनमा जो काम नभएर बसेका र दुई छाक खान नसक्नेलाई खाना दिइरहेका छौँ ।’ बाटोमा हिँडिरहेका मानिसलाई गाडीमा गएर खाना पुर्याएर दिने गरेको उनले बताए । बाटोमा हिँडेकालाई पानी, चाउचाउ र बिस्कुट पनि दिने गरेको उनले जानकारी दिए । ‘यो बेलामा काठमाडौं छोड्नेलाई सहयोग र दयाको भावना नदेखाए कहिले देखाउने’, उनी भन्छन्,’ सहर कठोर भएपनि सहरमा बस्ने सबै मानिस कठोर हुँदैनन् ।’ लकडाउन अवधिभर बेसहारा मानिसलाई खुवाउने सोचले अभियान चलाएको उनले बताए ।

विश्व हिन्दु स्वयम्सेवक संघ नेपाल, प्राज्ञिक विद्या परिषद् नेपाल र जनकल्याण प्रतिष्ठान नेपालको सहकार्यमा मिलेर सेवा गरिरहेको उनले जानकारी दिए । दैनिक २० हजार रुपैयाँ खर्च हुने गरिरहेको उनले बताए । उनले राहतका लागि चामल, दाल तेल, आलु र चीनी किन्ने गरेको उनले जानकारी दिए । ‘संस्थालाई माया गर्ने मानिसले दैनिक सहयोग गरिरहेको छन्,’ उनले भने,’ सहयोग गर्ने मानिस काठमाडौंका छन् । राम्रो कामका लागि र असहायलाई सहयोग गर्नेभन्दा सबैले गर्दारहेछन् ।’ लकडाउनका कारण धेरै मानिस घरमा बसेका छन् । घरमा बसेकालाई लक्षित गरी अनलाइन कक्षा पनि सञ्चालन गर्ने योजना उनले सुनाए । अनलाइनबाट निबन्ध लेखन, कविता, चित्रकलासम्बन्धी कक्षा सञ्चालन गरिने उनले बताए । साहित्यका विभिन्न विधामा प्रतियोगिता गर्ने तयारी भइरहेको उनले बताए ।